काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा पेश भएको रिट निवेदन दर्ता गर्न आदेश दिएको छ । शुक्रबार सर्वोच्च अदालत प्रशासनलाई दाहालको अभिव्यक्तिविरुद्ध पेस भएको रिट दर्ता गर्न आदेश दिएको हो ।
प्रधानमन्त्री दाहालले २०७६ को माघीका अवसरमा खुलामञ्चमा द्वन्द्वका क्रममा मारिएका मध्ये आफूले ५ हजारको जिम्मा लिन सक्ने बताएका थिए । त्यसविरुद्ध अधिवक्ताद्वय कल्याण बुढाथोकी र ज्ञानेन्द्रराज आरणले यही विषयलाई लिएर प्रचण्डमाथि फौजदारी अभियोगमा छानबिन र कारवाही हुनुपर्ने आदेश माग गर्दै सर्वोच्चमा रिट दिएका थिए ।
सर्वोच्च अदालत प्रशासनले राजनीतिक प्रकृतिको अभिव्यक्तिमा टेकेर पेश भएको निवेदन दर्ता हुन नसक्ने भन्दै दर्ता नहुने आदेश गरेको थियो । त्यसै विरुद्ध निवेदकहरु सर्वोच्च अदालतमा अर्को निवेदन दिएका थिए । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा र हरि फूयालको इजलासले निवेदन दर्ता गर्न आदेश दिएको हो ।
अर्को निवेदनमा द्वन्द्वका कारण विस्थापित, घाइते र सम्पत्ति हरण भएकाहरुले संलग्नमाथि कारवाही र आफूलाई भरणपोषणको व्यवस्था हुनुपर्ने माग गरेका छन् ।



