images
images

मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई कस्दै राष्ट्र बैंक, मेगा मर्जरदेखि पुँजी वृद्धिसम्मका विषय प्राथमिकतामा  


  • 883
    SHARES
  • २०७८ आषाढ १६ गते बुधबार

    मौद्रिक नीतिमार्फत बैंक तथा वित्तीय संस्थालाई कस्दै राष्ट्र बैंक, मेगा मर्जरदेखि पुँजी वृद्धिसम्मका विषय प्राथमिकतामा  

    राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी बढाउने योजना पनि बनाएको छ । लघुवित्त कम्पनीहरूको चुक्ता पुँजी कम भएका कारण शेयर बजारमा चलखेल शुरु भएको भन्दै बैंकले चुक्ता पुँजी बढाउने तयारी थालेको हो । राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिमार्फत सबै लघुवित्तको चुक्ता पुँजी बढाउने भएको हो ।

    काठमाडौं । आगामी आर्थिक वर्षको मौद्रिक नीतिमार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई अझ कस्ने भएको छ । राष्ट्र बैंकले ठूला बैंकलाई मेगा मर्जरदेखि लघुवित्त वित्तीय संस्थाको चुक्ता पुँजी वृद्धिसम्मको योजना ल्याउन लागेको हो । 

    राष्ट्र बैंकले ठूला बैंकलाई मर्जरमा लैजान विशेष व्यवस्था ल्याउने विषयमा छलफल भइरहेको राष्ट्र बैंक उच्च स्रोतले जानकारी दिएको छ । ‘मेगा मर्जरका विषयमा आगामी आर्थिक वर्षको मौद्रिक नीतिले विशेष व्यवस्था गर्नेछ,’ राष्ट्र बैंक स्रोतले भन्यो ‘मर्जरमा जान बैंकहरूलाई के के सुविधा दिँदा सहज हुन्छ, त्यस विषयमा छलफल भइरहेको छ ।’ 

    बैंकहरूलाई मेगा मर्जरमा जानका लागि मुख्य समस्या भनेको वित्तीय पाटोको भन्दा पनि लागि सञ्चालकहरू र कर्मचारीसम्म व्यवस्थापन मिलाउन भएको छ । यसको व्यवस्थापन मिलाउनको लागि राष्ट्र बैंकले केही सुविधा ल्याउने तयारी गरेको छ । 

    त्यसरी नै राष्ट्र बैंकले आगामी मौद्रिक नीति मार्फत लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी बढाउने योजना पनि बनाएको छ । लघुवित्त कम्पनीहरूको चुक्ता पुँजी कम भएका कारण शेयर बजारमा चलखेल शुरु भएको भन्दै बैंकले चुक्ता पुँजी बढाउने तयारी थालेको हो । राष्ट्र बैंकले आगामी वर्षको मौद्रिक नीतिमार्फत सबै लघुवित्तको चुक्ता पुँजी बढाउने भएको हो ।

    ‘अहिलेको अवस्थामा लघुवित्त कम्पनीहरुको चुक्ता पुँजी ज्यादै कम हो,’ राष्ट्र बैंक उच्च स्रोतले भन्यो, ‘चुक्ता पुँजी कम भएका कारण शेयर बजारमा लघुवित्त कम्पनीको शेयरमा चलखेल बढेकोले पुँजी बढाउने निष्कर्षमा निकालिएको हो ।’

    राष्ट्र बैंकले २ वर्षअघि राष्ट्रिय स्तरको थोक कर्जाको मात्र कारोबार गर्ने लघुवित्तको न्यूनतम चुक्ता पुँजी वृद्धि गरी ६० करोड रुपैयाँ पुर्याइएको थियो । अन्य लघुवित्तको चुक्ता पुँजी बढाइएको थिएन् ।

    अहिले पनि थोक कर्जाको कारोबार गर्ने बाहेक राष्ट्रिय स्तरका लघुवित्तको न्यूनतम चुक्ता पुँजी १० करोड रुपैयाँ मात्रै छ भने प्रदेशिक स्तरका लघुवित्तको चुक्ता पुँजी २ करोड रुपैयाँ मात्र छ ।

    लघुवित्त कम्पनीहरूको न्यून चुक्ता पुँजी भएकाले शेयरमा चलखेल भएको अनुमान राष्ट्र बैंकले ठहर गरेको छ । अघिल्ला वर्षदेखि नै लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हरुको छाता संगठन लघुवित्त बैंकर्स संघले पनि लघुवित्त संस्थाहरुको चुक्ता पुँजी वृद्धि गर्न राष्ट्र बैंकलाई सुझाव दिएको थियो । 

    अघि नै अहिले संघले न्यूनतम चुक्ता पुँजीको कम्तिमा साढे दुई गुणा चुक्ता पुँजी बढाउन सुझाव दिएको थियो । तर, राष्ट्र बैंकले राष्ट्रिय स्तरका थोक कर्जा कारोबार गर्ने लघुवित्तको मात्रै पुँजी वृद्धि गरेको थियो । अहिले लघुवित्तले बोनस शेयर दिएर चुक्ता पुँजी बढाउँदै आएका छन् ।

    विपन्न वर्गको उत्थान गर्ने भन्दै मुलुकभर ७२ वटा लघुवित्त वित्त संस्था सञ्चालनमा छन् । ९० भन्दा बढी लघुवित्तहरु सञ्चालनमा रहेकोमा अहिले एक आपसमा मर्ज हुँदै ७२ वटामा झरेका हुन् । हाल देशमा २० वटा फाइनान्स कम्पनी, १८ वटा विकास बैंक र २७ वटा वाणिज्य बैंकहरू सञ्चालनमा रहेका छन् । 

     


    images
    images

    Logo