काठमाडौं । एयर इण्डियाले एकै पटक २ सय ५० जहाज किन्ने भएको छ । एयर इण्डियाले फ्रान्सेली जहाज निर्माता कम्पनी एयरबससँग ४० वाइडबडी र २ सय १० न्यारोबडी जहाज किन्ने सम्झौता गरेको हो ।
भारतीय सञ्चारमाध्यमका अनुसार मंगलबार दुई कम्पनीबीच यस्तो सम्झौता भएको हो । सम्झौतामा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोन समेत उपस्थित रहेको समाचारमा उल्लेख छ ।
भारतीय एभिएसन क्षेत्रलाई आगामी १५ वर्षमा २ हजार भन्दा बढी हवाई जहाज आवश्यक पर्ने समाचारमा उल्लेख छ । सरकारी ध्जवाबाहक एयर इण्डियालाई अघिल्लो वर्षमात्र निजी व्यापारिक घराना टाटा समूहले अधिग्रहण गरेको थियो ।
टाटा समूहका अध्यक्ष चन्द्रशेखरनका अनुसार एयर इण्डियाले पछिल्लो समय आक्रामक रूपमा बजार विस्तार र जहाजहरु थप्ने काम गरिरहेको छ ।



