काठमाडौं । कृषि सामग्री कम्पनी लिमिटेडले आगामी धान बालीका लागि आवश्यक पर्ने रासायनिक मल खरिद गर्न थप ७ अर्ब ७५ करोड रुपैयाँ माग गरेको छ । धान बालीमा मलको आपूूर्ति सहज बनाउन ९० हजार मेट्रिक टन रासायनिक मल खरिद गर्न ७ अर्ब ७५ करोड रुपैयाँ बजेट माग गरेको हो ।
कम्पनीले कृषि तथा पशुपन्छी विकास मन्त्रालयमार्फत अर्थ मन्त्रालयमा रकमको स्रोत सुनिश्चत गर्न पत्राचार गरेको हो । कम्पनीका निमित्त प्रबन्धक राजेन्द्र कार्कीले हिउँदे बालीका लागि मल पर्याप्त भए पनि धान बालीका लागि अभाव हुने भएकाले मल आयात गर्न उक्त रकम माग गरिएको जानकारी दिए ।
“ग्लोबल टेन्डर आह्वान गरेर मल ल्याउन साढे ७ महिना लाग्छ, थप ९० हजार मेट्रिक टन मलको खरिद गर्न अर्थ मन्त्रालयले स्रोत सुनिश्चित नगरे धान खेतीमा मलको अभाव हुुन्छ,” कार्कीले भने । चालू आर्थिक वर्षको साउनदेखि हालसम्म एक लाख ९० हजार मेट्रिक टन मल आयात भएको कम्पनीले जनाएको छ । सरकारले मल खरिद गर्न चालू आर्थिक वर्षको बजेटमा १५ अर्ब रुपैयाँ विनियोजन गरेको थियो ।
थप १६ अर्ब रुपैयाँको स्रोत अर्थ मन्त्रालयले सुरक्षित गरिसकेकोे छ । मल खरिदका लागि ३१ अर्ब रुपैयाँ बजेट सुनिश्चित हुँदा यसले तीन लाख २४ हजार पाँच सय मेट्रिक टन रासायनिक मल खरिद गर्न पुग्ने मन्त्रालयले जनाएको छ । यसले आगामी वैशाख महिनासम्मका लागि मात्र पुुग्ने हुँदा थप ९० हजार मेट्रिक टन मल खरिद गर्न थप रकम माग गरिएको कम्पनीले जनाएको छ । ग्वोबल टेन्डरबाट स्विस सिङ्गापुर कम्पनीले ल्याउन लागेको ३० हजार मेट्रिक टन मल कोलकात्ताबाट लोडिङ भइसकेकाले केही दिनमै आइसक्ने कम्पनीले जनाएको छ ।
यस्तै कम्पनीले २० हजार मेट्रिक टन युुरिया र २० हजार मेट्रिक टन डीएपीका लागि एक–दुई दिनमै ग्लोबल टेन्डर गर्न लागेको जनाएको छ ।



