images
images

रसुवा नाका फेरि  बन्द, १ महिनामा ६ करोड सामान निर्यात


  • 534
    SHARES
  • २०७९ माघ ९ गते सोमबार

    रसुवा नाका फेरि  बन्द, १ महिनामा ६ करोड सामान निर्यात

    काठमाडौं । नेपाल र चीनबीचको मुख्य व्यापारिक नाका केरुङ दुई साताका लागि बन्द भएको छ। शुक्रबारदेखि चीनले नयाँ वर्षका लागि भनेर आगामी १५ दिनका लागि बन्द गरेको गरेपछि आयात निर्यात ठप्प भएको छ।

    कोभिडका कारण तीन वर्षदेखि सो नाकाबाट सामान निर्यात हुन सकेको थिएन। गत १२ पुसदेखि नाका खुला भएको थियो। कोभिडपछि आयात भए पनि निर्यात भने पूर्ण रूपमा बन्द थियो। रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीका अनुसार चीनले नयाँ वर्ष र ल्होछार पर्वका लागि भनेर आगामी फेब्रुअरी ५ सम्म नाका बन्द गरेको छ।

    नाका खुलेको एक महिनामा नेपालबाट करिब छ करोड रुपियाँ बराबरका ३९ कन्टेनर सामान चीन निर्यात भएको कार्यालयले जनाएको छ। नेपालबाट जसमा बाँसका मुढा, कार्पेट, तामाका सजावटका सामान, नेपाली कागज र मूर्तिलगायतका सामान रहेको भन्सार कार्यालयले जनाएको छ। 

    चीनबाट भने दैनिक १४ कन्टेनरका दरले सामान नेपाल आउने गरेको कार्यालयले जनाएको छ। नेपालबाट अलैँची, अदुवा, चिया, जडीबुटी तथा आयुर्वेदिक औषधि, कपडा र धागो, छाला जुत्ता, च्याङ्ग्रा, पस्मिना, गलैँचा, कफी राखिएको छ। यस्तै तरकारी तथा तरकारीको बीउ, फलफूल र जुस, मह, चाउचाउ, तयारी पोसाक, पत्थर, गहना, ऊनीका उत्पादन, फल, हस्तकला, मुसुरो, जुटका झोला, छुर्पी नेपालबाट चीन निर्यात हुने वस्तु हुन्। चीनबाट तयारी कपडा, स्याउ, रबर, प्लास्टिकका जुत्ताचप्पल, हाते झोला, छालाका जुत्ता, मोटरको ब्याट्री, यूपीएस, प्लास्टिकका सामग्री आयात हुने गरेका छन्।

    तातोपानी र रसुवागढीबाहेक अन्य वैकल्पिक नाका खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न नेपाल र चीनबीच सात वर्षअघि सम्झौता भए पनि कार्यान्वयनमा आउन सकेको छैन। ताप्लेजुङको ओलाङचुङ्गोला, सङ्खुवासभाको किमाथाङ्का, मुस्ताङको कोरला, गोरखाको लार्के, दोलखाको लामाबगर, हुम्लाको यारी र मुगुमा नाका सञ्चालनमा ल्याउन सम्भाव्यता अध्ययन गर्ने सहमति भएको थियो। 


    images
    images

    Logo