images
images

सफल परीक्षणपछि रेसुङ्गा विमानस्थलबाट तारा एयरद्धारा साप्ताहिक उडानको तयारी


  • 426
    SHARES
  • २०७९ पौष २५ गते सोमबार

    सफल परीक्षणपछि रेसुङ्गा विमानस्थलबाट तारा एयरद्धारा साप्ताहिक उडानको तयारी

    काठमाडौं । गुल्मीको रेसुङ्गा विमानस्थलबाट तारा एयरले साप्ताहिक उडानको तयारी थालेको छ । आइतबार जिल्लाको रेसुङ्गा नगरपालिका–१० मा बनेको रेसुङ्गा विमानस्थलबाट तारा एयरको ९ एन–एएलओ जहाजले सफल परीक्षण गरेसँगै साप्ताहिक उडानको तयारी सुरु भएको हो ।

    रेसुङ्गा विमानस्थल गुल्मीबाट दुई हप्तापछि साप्ताहिक रुपमा एक दिन उडानको तयारी भइरहेको तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले जानकारी दिए । उनका अनुसार यात्रुको सङ्ख्याका आधारमा साप्ताहिक दुई दिनको उडान पनि भर्न सकिने छ । तर अझै हप्ताको कुन बार उडान हुने भन्ने निर्णय भइसकेको छैन । 

    रेसुङ्गा नगरपालिका र तारा एयरको समन्वयमा पहिलो चरणका केही नियमित उडान हुनेछन् । यात्रु भएमा मात्र नियमित उडान गर्ने तारा एयरको तयारी छ । रेसुङ्गा विमानस्थलबाट सफल परीक्षण भएको र अब तारा एयरको प्राविधिक समूह आएर काम गर्नाका साथै कर्मचारी राखेपछि बढीमा दुई हप्तापछि नियमित उडान गरिने तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलले बताए। “हामीले नाफाका लागि नै उडान गर्ने हो, जसका लागि पर्याप्त मात्रामा यात्रु हुनुपर्छ”, प्रवक्ता बर्तौलले भने, “यात्रु भएमा हामीले साप्ताहिक रुपमा एक पटक र बढीमा दुई पटक नियमित उडान गर्नेर्छौं ।” उनका अनुसार गुल्मीदेखि काठमाडौँसम्म जहाजको यात्रा ४५ मिनेट र भाडा ८ देखि ९ हजार रुपैयाँको बीचमा रहनेछ । 

    रेसुङ्गा विमानस्थलमा परीक्षणका लागि सफल अवतरण गराउनुभएका पाइलट सञ्जीव श्रेष्ठले दिउँसो र साँझपख हावाको नकारात्मक प्रभाव पर्ने भएकाले बिहानी समय दिउँसो १२ बजेभित्र उडानका लागि कुनै समस्या नहुने बताए । उनले यात्रु भएमा आफूहरु नियमित उडान गर्न तयार रहेकोसमेत बताए । 
     
    गुल्मीलाई दिगो रुपमा हवाई सेवा दिनका लागि आफूहरुले निरन्तर पहल गरेको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले बताए । “गुल्मीको भाग्य र भविष्यसँग रेसुङ्गा  विमानस्थल जोडिएको छ”, उनले भने, “नियमित उडानको तयारी भइरहेको छ, दुई हप्तापछि सुरु हुन्छ ।” यात्रुको सङ्ख्या कम भएको खण्डमा सुरुसुरुको समयमा रेसुङ्गा नगरपालिकाले सहयोग गर्नेछ । तर यात्रुका कारण नियमित उडान नरोकिने नगरप्रमुख पन्थीको दाबी छ ।

    रेसुङ्गा विमानस्थलबाट १८ सिट क्षमताको जहाज उड्नेछ । परीक्षण उडानमा आइतबार गुल्मीको क्षेत्र नं १ बाट निर्वाचित सांसद चन्द्र भण्डारी, पूर्वमन्त्री प्रदीपकुमार ज्ञवाली, रामकुमारी झाँक्री, हाललाई लुम्बिनी प्रदेशका सभामुख प्रदेश सांसद डिल्लीराज भुसाल, सांसद धनेन्द्र कार्की, रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थी, नेपाली कांग्रेस लुम्बिनी प्रदेश उपसभापति भुवनप्रसाद श्रेष्ठ, नेकपा (माओवादी केन्द्र) गुल्मीका संयोजक बुद्धि जिसी लगायतको समूह पनि तारा एयरमा काठमाडौँबाट आएका थिए । नगरप्रमुख बाहेकको समूह काठमाडौँ नै फर्किएका छन् । 

    २०६३ साल मा तत्कालीन पर्यटनमन्त्री प्रदीपकुमार ज्ञवालीबाट रेसुङ्गा विमानस्थल शिलान्यास भएको थियो । यहाँ  २०७५ जेठ २५ गते तारा एयरकै जहाजले सफल रुपमा धुले उडान परीक्षण गरेको थियो । विमानस्थलको धावनमार्ग ५ सय २० मिटर लम्बाइ र २० मिटर चौडाइको रहेको छ । १ सय ५६ रोपनी क्षेत्रफलमा विमानस्थल फैलिएको छ । कूल ३५ करोड लागतमा विमानस्थल तयार भएको आयोजना कार्यालयका इन्जिनियर दिनेश परियारले बताएका छन् । 


    images
    images

    Logo