images
images

मोबाइल नभेटिएपछि सर्यो फाइभजी परीक्षण 


  • 486
    SHARES
  • २०७९ पौष २३ गते शनिबार

    मोबाइल नभेटिएपछि सर्यो फाइभजी परीक्षण 

    काठमाडौं । प्रयोग गर्न मिल्ने मोबाइलको सीमितताले फाइभजी परीक्षण केही ढिला सुरु हुने भएको छ । यसअघि पुस १७ गते (जनवरी १) परीक्षणको तयारी गरिए पनि फाइभजी प्रयोग गर्न मिल्ने मोबाइल नै कम भएपछि नेपाल टेलिकमले तोकिएको समयमा सुरु गर्न सकेको थिएन । यद्यपि परीक्षणका लागि आवश्यक प्रणालीको परीक्षण भने सम्पन्न भइसकेको कम्पनीले जनाएको छ ।

    टेलिकमका प्रवक्ता सोभन अधिकारीका अनुसार फाइभजी ‘सपोर्ट’ गर्ने मोबाइलको उपलब्धता अध्ययन गरेपछि यसको परीक्षण सुरु हुनेछ । “आन्तरिक रूपमा गर्नुपर्ने सबै परीक्षण भइसकेको छ,” उनले भने, ’तर, जब मोबाइलमा यसको परीक्षण सुरु गरियो, मोबाइल सेट नै धेरै कम भएको पाइयो ।’ 

    टेलिकम अहिले भने बजारमा २६ सय मेगाहर्ज ब्यान्ड सपोर्ट गर्ने मोबाइलको उपलब्धताको सर्वेक्षणमा जुटेको छ । त्यसका आधारमा अबको केही हप्तामै यसको सार्वजनिक परीक्षण सुरु गरिने प्रवक्ता अधिकारीले जानकारी दिए । 

    विश्वभर बढ्दो प्रयोगमा रहेको दूरसञ्चारको पछिल्लो प्रविधि फाइभजी परीक्षणको नेपालमा पनि व्यग्र प्रतीक्षा थियो । परीक्षणका लागि आवश्यक मोबाइल सेटहरू बजारमा देखिन थालेपछि मात्र सर्वसाधारणका लागि उपलब्ध गराउने टेलिकमको तयारीले यसका लागि अझै प्रतीक्षा गर्नुपर्ने भएको छ ।  

    टेलिकमले पहिलो चरणमा देशका विभिन्न चार स्थानमा फाइभजी परीक्षण सुरुवात गर्ने योजना बनाएको छ । एक वर्षसम्म परीक्षण गर्ने सुविधा पाएको टेलिकमले त्यसपछि प्राधिकरणलाई उक्त फ्रिक्वेन्सी फिर्ता गर्नुपर्नेछ । 

    फाइभजी खास गरी उपकरणदेखि उपकरणबीचको सञ्चारका लागि उपयोगी मानिन्छ । फाइभजीको प्रयोगमार्फत प्रतिसेकेन्ड अधिकतम १० जीबी गतिको इन्टरनेट प्रयोग गर्न सकिन्छ । फाइभजी अवरोधविहीन प्रविधि मानिएकाले आईओटी, एमटुएम सञ्चारजस्ता काममा यसको प्रयोग हुने गरेको छ । 


    images
    images

    Logo