images
images

लोकप्रिय मतमा ओरालो यात्रा


  • 457
    SHARES
  • २०७९ पौष १६ गते शनिबार

    लोकप्रिय मतमा ओरालो यात्रा

    २०७४ सालको प्रतिनिधि सभा सदस्य निर्वाचनमा समानुपातिकतर्फ ४१ स्थान ल्याएको नेकपा (एमाले) यो पटक ३४ स्थानमा सीमित भयो । एमाले मात्रै हैन नेपाली कांग्रेस पनि ४० बाट ३२ स्थानमा झर्यो । लोकप्रिय (पपुलर) मतको प्रतिशतमा पनि दुवै दल पछिल्लो चुनावको तुलनामा पछाडि परेका छन् । प्रतिशतमा पहिलो र दोस्रो स्थानमा रहे पनि एमाले र कांग्रेसले सिट सङ्ख्या भने गुमाइरहेका छन् । 

    नेकपा (माओवादी केन्द्र)को हकमा २०६४ यता नै लोकप्रिय मत ओरालो लाग्ने क्रम रोकिएको छैन । २०७४ सालमा १७ सिट पाएको माओवादी केन्द्रले यो पटक १३ स्थान मात्र प्राप्त गर्‍यो । पछिल्ला तीन निर्वाचनमा मतदाता बढिरहे पनि दलहरूको मत भने घटिरहेको छ ।

    हालैको निर्वाचनमा ठूला दलबाट नयाँ दलले स्थान खोसे पनि अघिल्ला चुनावसम्म प्रमुख तीन दलको भोट बैङ्कबाट अन्य दलले स्थान खोस्न सकेका थिएनन् । समानुपातिकतर्फको सदर मत सङ्ख्या बढे पनि दलहरूको स्थान घटिरहेको छ । 

    मतदाता बढेको तुलनामा सदर मत प्रतिशत भने यो चुनावमा अघिल्लो पटकभन्दा कम छ । नयाँ दलले स्थान खोस्दा यो पटक एमाले, कांग्रेस र माओवादी केन्द्रले स्थान गुमाएका छन् । यो पटक एमालेले साढे दुई प्रतिशत मत गुमाएको छ । यस्तै कांग्रेस तीन दशमलव ६८ र माओवादी केन्द्रले १ दशमलव ९२ प्रतिशत मत गुमाएको छ ।

    यो पटक एमालेको मतमध्ये करिब तीन लाख मत नेकपा (एकीकृत समाजवादी)ले खोसेको छ । एकीकृत समाजवादी एमालेबाट विभाजित दल हो । स्पष्ट आँकडा नभए पनि तीन ठूला दलको मत यो पटक राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र  जनमत  पार्टीले  खोसेका  छन्  ।  जनमत  पार्टीले  मधेश केन्द्रित दल जनता समाजवादी र लोकतान्त्रिक समाजवादीको पनि मत खोसेको आकलन गरिएको छ ।

    यस्तै पहिलो पटक निर्वाचनमा भाग लिएको नागरिक उन्मुक्ति पार्टीले पनि ठूला र मधेश केन्द्रित दलबाट करिब तीन लाख मत खोसेको छ । तर नागरिक उन्मुक्ति पार्टी राष्ट्रिय दल भने बन्न सकेन । राष्ट्रिय दल बनेको स्वतन्त्र पार्टीले ११ लाख ३० हजार ३ सय ४४ मत पाएको छ । यस्तै राप्रपाले पाँच लाख ८८ हजार ८४९ मत पाएको छ । जनमत पार्टीले ३ लाख ९४ हजार ६ सय ५५ मत पाएको छ । राष्ट्रिय दल बन्न नसकेका एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले पनि करिब ३ लाख मत ल्याएका छन् । 

    कति थिए मतदाता ?

    पहिलो संविधान सभा सदस्य निर्वाचनमा १ करोड ७६ लाख ११ हजार ८ सय ३२ मतदाता थिए । यस्तै उक्त मतदाता सङ्ख्या दोस्रो संविधान सभामा ह्वात्तै घटेको निर्वाचन आयोगको विवरणमा उल्लेख छ । २०७० सालमा १ करोड २१ लाख ४७ हजार ८ सय ६५ हजार मतदाता कायम थिए । सङ्घीय संरचनामा पहिलो पटक भएको सङ्घ र प्रदेशको चुनावमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता कायम थिए ।

    यस्तै २०७९ सालमा १ करोड ७९ लाख ८८ हजार ५ सय ७० मतदाता कायम थिए । दोस्रो संविधान सभा निर्वाचन र २०७४ सालको चुनावबाहेक अन्यमा मतदाता सङ्ख्या र प्रतिशत दुवै उत्साहजनक छैन । २०६४ सालमा एक करोड ११ लाख ४६ हजार ५ सय ४० मतमा १ करोड ७ लाख ३९ हजार ७८ सदर भएको थियो । 


    images
    images

    Logo