काठमाडौं । पर्यटकीय नगरी पोखरामा नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा आज यात्रुसहित दुई विमान अवतरण भएका छन् ।
निजी क्षेत्रका अग्रणी विमान कम्पनी बुद्ध एयरलाइन्स र यति एयरलाइन्सले आफ्नो परीक्षण उडानमा पोखरेली पर्यटन व्यवसायी तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै साविकको विमानस्थलबाट नवनिर्मित पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पु¥याएका हुन् ।
उडानपश्चात् बुद्ध एयरलाइन्सका बजार निर्देशक (मार्केटिङ सेल्स डाइरेक्टर) रुपेश जोशीले नवनिर्मित विमानस्थल पूर्णरूपमा उडानयोग्य भएको बताउँदै आगामी जनवरी १ देखि यही विमानस्थलबाट उडान हुने जानकारी दिए ।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनुले आगामी दिनमा हवाई उडान अझै बढी सुविधामय बन्ने उहाँले विश्वास व्यक्त गरे ।
बुद्ध एयरले नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा जहाजहरूको रात्रि बिसाउनी पनि गर्ने बताउँदै उहाँले पोखराबाट भारतको वाराणसीलाई जोड्नका लागि सम्बन्धित ठाउँहरूमा पत्राचार गरिसकिएको जानकारी दिनुभयो । अनुमति पाएका अवस्थामा दिल्ली, देहरादुन र अन्य भारतीय गन्तव्यमा उडान गर्ने बुद्धको तयारी छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा गरिएको यान्त्रिक उडान ‘क्यालिब्रेसन फ्लाइट’ले यो विमानस्थल अन्तर्राष्ट्रिय उडानका लागि तयार भएको पाइएको नागरिक उड्डयन कार्यालय पोखराका प्रमुख विक्रम गौतमले बताउनुभयो । यान्त्रिक परीक्षणको प्रतिवेदन क्यानले स्वीकृत गरेपछि एरोनोटिकल इन्फर्मेसन पब्लिकेसन (एआइटी) मा प्रकाशन गरिनेछ ।
तीन हजार नौ सय रोपनी क्षेत्रफलमा फैलिएको पोखरा विमानस्थल झन्डै २२ अर्ब लागतमा निर्माण गरिएको हो । विमानस्थलमा दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको धावनमार्ग छ ।
उडान सञ्चालनकै तयारीस्वरूप विमानस्थलको पूर्वतर्फको रिट्ठेपानीडाँडा कटान गर्न बाँकी काम तीव्ररूपमा भइरहेको जनाइएको छ ।
जनवरी १ मा बिहानैदेखि पोखराबाट हुने सबै उडान (हेलिकोप्टर र अल्ट्रालाइटबाहेक) पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाटै गर्ने गरी तयारी गरिएको छ ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलबाट उडानको तयारीस्वरूप विमान कम्पनीले परीक्षण उडान गरिसक्दा यतिखेर समग्र पोखरेली हर्षित छन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल पोखराका लागि गौरवको विषय भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य बताउँछन् । “विमानस्थल पोखराको गौरव हो, यसलाई सुव्यवस्थित रूपमा सञ्चालन गरिनुपर्छ”, उनले भने, “आगामी जनवरी १ देखि विमानस्थल व्यस्तरूपमा चल्नुपर्दछ ।”
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलले पोखरालाई सिधै विश्व बजारसँग जोड्ने भएकाले यसको विशिष्ट महत्त्व रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष पोमनारायण श्रेष्ठले बताए ।
आगामी दिनमा विदेशबाट पर्यटकहरू सिधै पोखरा आउनसक्ने भएकाले यसको विशिष्ट महत्व रहेको उल्लेख गर्दै उनले रात्रिकालीन समयमा पनि उडान हुने भएकाले यहाँको पर्यटन प्रवद्र्धनमा योगदान पुग्ने बताए ।
पोखरामा दैनिक २० हजारभन्दा बढी पर्यटकलाई स्तरीय होटेल तथा आवासको सुविधा दिन सकिने उनको भनाइ छ ।
तथ्याङ्कअनुसार काठमाडौँ आएका विदेशी पर्यटकमध्ये ४० देखि ४५ प्रतिशत पर्यटक पोखरा आउने गर्दछन् । नेपाल आएकामध्ये करिब ६० प्रतिशत विदेशी पर्यटक मनोरञ्जनका लागि आउने गरेको र ४० देखि ४५ प्रतिशत पोखरा पुग्ने गरेका छन् ।



