काठमाडौं । नेकपा एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन प्रस्ताव गर्ने भएको छ । सत्ता गठबन्धनको सरकार बन्दैगर्दा राष्ट्रपतिको रुपमा खनाललाई अघि सार्ने निर्णय भएको पार्टी प्रचार प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए ।
गठबन्धनमा रहेका दलहरुबीच शक्ति बाँडफाँटका लागि सोमबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच सघन वार्ता भएको थियो । सो भेटमा समेत अध्यक्ष नेपालले आफ्नो पार्टीले प्रधानमन्त्रीमा दाबी नगर्ने तर राष्ट्रपति नछाड्ने बताएका थिए ।
भेटमा अध्यक्ष नेपालले आफूहरु गठबन्धनलाई कायम गर्ने र आलोपालो सरकारको बनाउनुपर्ने पक्षमा रहेको भन्दै सुरुमा यसको नेतृत्व कसले गर्ने भन्ने जिम्मा भने काँग्रेस र माओवादी केन्द्रले टुंग्याउनुपर्ने उल्लेख गरेका थिए ।



