काठमाडौं । कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थमा बुध्द एयरले पुस १ गतेदेखि ७२ सिट क्षमताको एटिआर–७२ जहाजले उडान गर्ने भएको छ । यस अघि बुद्ध एयर एटीआर ४२ जहाजबाट उडान गर्दै आइरहेको थियो ।
हाल काठमाडौंदेखि सुर्खेतसम्मको हवाई भाडा १४ हजार रुपैयाँसम्म रहेको छ । ठूलो जहाजले उडान सञ्चालन गरेपछि उक्त गन्तव्यमा आधाजस्तो भाडा सस्तो हुने भएको छ । एटीआर ७२ विमानले काठमाडौंदेखि सुर्खेतसम्मको हवाई भाडा ७ हजार रुपैयाँ लिने बुद्ध एयरले जनाएको छ ।
आगामी पुस १ गतेदेख दैनिक बिहान १० बजे काठमाडौंबाट सुर्खेत र ११ः३५ बजे सुर्खेतबाट काठमाडौंको आउने बुद्ध एयरले जनाएको छ ।
सुर्खेत उडान गर्ने यात्रुको मागअनुरुप सिट उपलब्धता न्यून रहेको तथ्यलाई आत्मसात् गर्दै एटिआर–७२ मार्फत उडान सञ्चालन आवश्यकता महसुस भएको तथा हाल सञ्चालनमा रहेको जहाजको उडान सञ्चालन लागत उच्च रहेकाले यात्रुको सहजताका लागि यात्रुलाई कम भाडादरका साथै थप सिट उपलब्ध गराई सेवा अझ विस्तार गर्ने उद्देश्यले एटिआर–७२ जहाज सञ्चालन गर्न लागेको कम्पनीको भनाइ छ ।



