images
images

समानुपातिकतर्फ १३ लाख मत जाने भयो खेर, ४० वटा राजनीतिक दलकाे मत अर्थहिन


  • 637
    SHARES
  • २०७९ मंसिर २० गते मंगलबार

    समानुपातिकतर्फ १३ लाख मत जाने भयो खेर, ४० वटा राजनीतिक दलकाे मत अर्थहिन

    काठमाडौं । प्रतिनिधिसभाको समानुपातिकतर्फ करिब १३ लाख मत खेर जाने भएको छ। मंसिर ४ गते भएको प्रदेशसभा र प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना अन्तिम चरणमा पुग्दा १२ लाख ८२ हजारभन्दा बढी मत खेर जाने देखिएको हो। 

    दोलखा र बाजुराबाहेक प्रतिनिधिसभातर्फको समानुपातिक मतगणना सक्दा कुल सदर मतको ३ प्रतिशत ल्याएका दलको मत मात्र समानुपातिकतर्फको सिट बाँडफाँटमा समेटिनेछ। तर ३ प्रतिशतभन्दा कम मत ल्याउने दलका लागि सिट बाँडफाँट हुँदैन ।

    त्यसकारण ती दलहरूको मत खेर जाने भएको हो। प्रतिनिधिसभाको चुनावका लागि देशभरिबाट समानुपातिकमा करिब १ करोड ११ लाख मत खसेको निर्वाचन आयोगको अनुमानित तथ्यांक छ। आयोगले हालसम्म यकिन तथ्यांक सार्वजनिक गरिसकेको छैन। समानुपातिकतर्फ खसेको मत मध्ये करिब ६ लाख मत बदर हुने देखिएको छ।

    निर्वाचन आयोगको सोमबार बेलुकीसम्मको तथ्यांकअनुसार समानुपातिकतर्फ १ करोड ४ लाख ३० हजार बढी मत सदर भएको छ। जसमध्ये ४० वटा राजनीतिक दलले प्राप्त गरेको मतको कुनै अर्थ नहुने भएको छ। देशभरिबाट १ सय १० वटा सिटका लागि मतदाताले विभिन्न राजनीतिक दललाई मत दिएका थिए।

    मतदाताले सातवटा दलबाहेककालाई दिएको मत खेर गएको हो। हालसम्म सातवटा राजनीतिक दल मात्रै सदर मतको ३ प्रतिशत प्राप्त गर्न सफल भएका छन्।

    कुल सदर मतको ३ प्रतिशत ल्याउने दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) र जनमत पार्टी हुन्।

    यी सात राजनीतिक दलले अब राष्ट्रिय दलको मान्यता पाउनुका साथै समानुपातिकतर्फबाट १ सय १० मध्ये भागबन्डामा परेको सिट प्राप्त गर्नेछन्। समानुपातिक प्रणालीमा देशको भूभागलाई एक निर्वाचन क्षेत्र मानिन्छ। मतदाताले दललाई दिएको मत कुल सदर मतमध्ये दलको सिट संख्या निर्धारण हुनेछ। 


    images
    images

    Logo