images
images

फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य


  • 490
    SHARES
  • २०७९ मंसिर १० गते शनिबार

    फागुनभित्र इम्बोस्ड नम्बर प्लेट अनिवार्य

    काठमाडौं । आगामी  फागुन  मसान्तसम्म  सवारीसाधनमा  इम्बोस्ड  नम्बर  प्लेट  जडान  गरिसक्नुपर्ने  भएको  छ । यातायात व्यवस्था विभागले सो समयावधि तोकेको हो । आगामी २०८० साल मङ्सिरसम्ममा २५ लाख नम्बर प्लेट जडान गर्नुपर्ने निर्माण कम्पनीसँग सम्झौता भए पनि हालसम्म जम्मा ३५ हजार नम्बर प्लेट जडान भएपछि विभागले निर्णय नै गरेर फागुन मसान्त तोकेको छ । 

    विभागले  सूचना  प्रकाशन  गरेर  सरकारी  र  संस्थानका गाडीलाई फागुन मसान्तभित्र इम्बोस्ड नम्बर प्लेट जडान गरिसक्न भनेको छ । विभागका प्रवक्ता ईश्वरीप्रसाद पनेरुले सरकारी र संस्थानलाई तोकिए पनि सबै प्रकारका सवारीसाधनलाई सूचना गरिएको जानकारी दिए । हाल विभागमा इम्बोस्ड नम्बर प्लेटको माग छैन । नम्बर प्लेट जडान गर्ने सेवाग्राही नआएपछि विभागले समयावधि तोकेको हो ।

     दैनिक ५० हजारसम्म इम्बोस्ड नम्बर उत्पादन गर्न सक्ने अवस्था रहे पनि माग नभएर उत्पादन नै नभएको उनले बताए । विभागले इम्बोस्ड नम्बर प्लेट उत्पादन गरी मागअनुसार सम्बन्धित यातायात कार्यालयमा आपूर्ति गर्ने गरेको छ । हालसम्म २ लाख १५ हजारप्रति उत्पादन भएको छ । इम्बोस्ड नम्बर प्लेट निर्माणका लागि  २०७३  साल  जेठमा  ५  वर्षमा  २५  लाख  इम्बोस्ड नम्बर वितरण गर्ने गरी डेकाटुरसँग ४ अर्ब ६७ करोड रुपैयाँमा सम्झौता भएको थियो । 

    इम्बोस्ड नम्बर प्लेट जडान गरेबापत विभागले दुईपाङ्ग्रे सवारी साधनलाई २ हजार ५ सय र ठूला सवारीका लागि ३ हजार ६ सय रुपैयाँ शुल्क लिन्छ । जसबाट ७० प्रतिशत कम्पनीलाई भुक्तानी हुन्छ भने ३० प्रतिशत सरकारी राजस्वमा जान्छ । २०७४  साल  भदौमा  इम्बोस्ड  प्लेट  जडान  सुरु भएदेखि भाषा र प्रदेशको नामका बारेमा विवाद हुँदै आएको छ । प्लेटमा नेपाली भाषाको अङ्क र अक्षर  प्रयोग  नभएको  विषय  सर्वोच्च  अदालतमा  पुगेको  थियो  । 

     अदालतले  २०७४  साल  फागुनमा  सवारीसाधनमा तत्काल इम्बोस्ड नम्बर प्रयोग नगर्न अन्तरिम आदेश दिएपछि प्लेटको वितरण रोकिएको थियो । २०७६ साल मङ्सिर २७ गते प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहितको पाँच जना न्यायाधीशको संवैधानिक इजलासले उक्त रिट खारेज गरिदिएको थियो । खारेजपछि पुनः वितरण सुरु भएको थियो । 


    images
    images

    Logo