काठमाडौं । मेलम्चीको पानी तेस्रो पटक काठमाडौँ उपत्यकामा ल्याउनका लागि आवश्यक तयारी सुरु गरिएको छ । यस वर्षको बाढीपहिरोले बगाएका सडक तथा पुलहरू अस्थायी रूपमा निर्माण गरिएको छ । त्यसैगरी बाढीपहिरोले थुपारेका ढुङ्गा र माटो पन्छाउन सुरु गरिएको मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले जानकारी दिए ।
उनले भने, मेलम्चीको हेडवक्र्ससम्म पुग्ने अस्थायी बाटो निर्माण भइसकेको छ । आयोजनाका प्रमुख तथा प्राविधिकले मुहानस्थलमा पुगी क्षतिबारे अध्ययन गरिरहनुभएको छ ।’’ त्यसैगरी आयोजनाको सुरुङको सफाइ तथा मर्मत कार्य सुरु भइसकेको उनले जानकारी दिए ।
मुहानस्थलमा आवश्यक मात्रामा जनशक्ति, एक्साभेटर, टिप्परलगायतका उपकरण उपलब्ध गराइएको छ । यस वर्षको वर्षा सुरु भएसँगै बन्द गरिएको मेलम्चीको मुहानमा माटो र ढुङ्गा पन्छाउन अहिले छवटा एक्साभेटर र छवटा टिप्पर कममा प्रयोग भएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ ।
यस वर्षको बाढीपहिरोले विगतजस्तो ठूला ठूला ढुङ्गा तथा धेरै मात्रामा बालुवा र माटो नथुपारेको हुनाले माटो र ढुङ्गा पन्छाउन धेरै समय नलाग्ने बताउँदै प्रवक्ता पन्तले सकेसम मङ्सिरभित्रमा नै मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याइने बताए ।
अडिटको मुखमा गेट राखिएको तथा गेट नम्बर १ मा समेत फलामको पाता राखिएकाले बाढीले क्षति पु¥याउन नसकेको उनको भनाइ छ । मनसुनी वर्षा सुरु हुन थालेपछि जेठ १७ गते मेलम्ची खानेपानी आयोजनाको मुहान बन्द गरिएको थियो । वर्षायाममा बाढीपहिरो आउन सक्ने र मुहान तथा सुरुङमा क्षति पुग्ने भएकाले पानी पथान्तरण गर्ने सुरुङका ढोका बन्द गरिएको थियो । गत वर्ष असार १ र साउन १७ गते पहिरोसँगै आएको बाढीले मेलम्चीको मुहानक्षेत्र र सुरुङमार्गमा ठूलो क्षति पु¥याएको थियो ।



