काठमाडौं । असार १ गतेदेखि सडक खन्न प्रतिबन्ध लगाइने भएको छ । धारा, ढल, बिजुली, टेलिफोन लगायत प्रयोजनका लागि सडक खन्न असारदेखि भदौ मसान्तसम्मका लागि प्रतिबन्ध लगाइएको सडक विभाग अन्तर्गत संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयले जनाएको छ ।
अहिले सडक खन्दा तत्कालै मर्मत सम्भार गरी यथास्थितिमा ल्याउन नसकिने र थप सडक बिग्रिँदै जाने भएकोले यो अवधिमा कसैलाई पनि सडक खन्न स्वीकृति नदिइने कार्यालयले प्रष्ट पारेको छ । कसैले जबरजस्ती सडक खनेको पाइएमा कारबाही गर्ने चेतावनी समेत कार्यालयले दिएका छ ।
यो वर्ष असार नलाग्दै मनसुन सुरु भइसकेको छ । मौसमविद्का अनुसार अघिल्ला वर्षको तुलनामा यो वर्ष पानी धेरै पर्नेछ । वर्षा सुरु भएसँगै सडक खन्दा यसले सडकलाई नै प्रतिकुल प्रभाव पार्ने भन्दै कार्यालयले सडक खन्न नपाइने व्यवस्था गरेको हो ।




