images
images

दोलखाको चुनावी परिदृश्य : २८ वर्षअघिको विरासत फर्काउने काँग्रेसको दाउ


  • 685
    SHARES
  • २०७९ कार्तिक २१ गते सोमबार

    दोलखाको चुनावी परिदृश्य : २८ वर्षअघिको विरासत फर्काउने काँग्रेसको दाउ

    दोलखा । दोलखा जिल्लालाई विगतमा कम्युनिष्टको गढको रुपमा रहँदै आएको थियो । २०५१ सालको मध्यावधि भीमबहादुर तामाङ विजयी हुनुबाहेक यो क्षेत्र सबै चुनावमा कम्युनिष्टकै पोल्टामा गएको थियो । यसपटक भने काँग्रेस २८ वर्षअघिको त्यो विरासत फर्काउने दाउमा छ । 

    दोलखाका प्रदेश सभाको दुई वटै क्षेत्रमा उम्मेदवारी दिएको नेपाली कांग्रेसका उम्मेदवार विजय हुने सम्भावना बढेको छ । गत स्थानीय तहमा गठबन्धन दलले अधिकांश स्थानीय तहमा जितेका कारण पनि गठबन्धन्धनका उम्मेदवार चुनाव जित्ने दावी गर्दै आएका छन् । 

    वडा अध्यक्षमा पार्टीहरुले ल्याएको मत हेर्दा एमाले भन्दा गठबन्धनको भोट करिब १५ हजारले बढी भएकाले पनि यसपटक गठबन्धनका उम्मेदवार निर्वाचन जित्नेमा उत्साहित छन् । सो निर्वाचनमा  एमालेले ३९ हजार ५०, नेपाली कांग्रेस ३३ हजार ४ सय ३९, माओवादीले १७ हजार ३ सय ७५, नेकपा (एस)ले ३ हजार १सय ५१, राप्रपा १ हजार ५ सय ११ तथा जसपाले २ सय ९ भोट ल्याएको थियो । 
    त्यो बाहेक दोलखामा नेपाली कांग्रेसले चुनाव जित्न सकेको छैन । २०७४ को निर्वाचनमा प्रतिनिधि सभामा पार्वत गुरुङ विजयी भएका थिए । त्यो बेला नेपाली कांग्रेसबाट रुद्रबहादुर खड्काले उम्मेदवारी दिएका थिए । त्यति वेला गुरुङ ३० हजार १ सय ५३ मतान्तरले विजयी भएका थिए । 
    यसपटक प्रतिनिधि सभामा मुख्य प्रतिष्पर्धा नेकपा (माओवादी)का गंगा कार्की र नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीवीच हुँदै छ ।  प्रतिनिधि सभामा एउटा मात्र निर्वाचन क्षेत्र रहेको दोलखामा सत्तारुढ गठबन्धनको तर्फ माओवादीका नेता कार्कीले उम्मेदवारी दिएका हुन्    । उनको प्रतिष्पर्धा शिवाकाटीसँगै हुनेछ ।  

    यस क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीबाट सहायक महामन्त्री विजय खड्का, हाम्रो नेपाल पार्टीबाट विश्वनीति प्रकाशमान सिंह प्राखिन,  नागरिक उन्मुक्ति पाटीबाट शुक्र तामाङ पनि उम्मेदवार बनेका छन् । त्यस्तै, लोकतान्त्रिक समाजवादी पार्टीबाट गोपाल नेपाली, नेपाल मजदुर किसान पार्टीबाट गोपाल शिवाकाटी, जनता समाजवादी पार्टीबाट दावा शेर्पा, नेकपा (माले)बाट खिमबहादुर शिवाकोटी लगायतकाले उम्मेदवारी दिएका छन् । 

    हाम्रो नेपाली पार्टीबाट प्रतिनिधि सभामा उम्मेदवारी दिएका विश्वनीति प्रकाशमान सिंह पाख्रिनले अहिले देशभर युवा र नयाँ अनुहारप्रति आकर्षंण बढेको बताउदै आफू पहिलो पटक प्रतिनिधि सभातर्फ उम्मेदवारी दिएको बताए ।  
    नेपाली कांग्रेस दोलखाका सभापति तथा प्रदेश सभातर्फ दोलखा (ख)मा  नेपाली कांग्रेसबाट उम्मेदवार बर्मा लामाले दोलखामा नेपाली कांग्रेस सहित गठबन्धनले युवा र नयाँ अनुहारलाई प्राथमिकता दिएको बताए । २०७४ को निर्वाचनमा प्रदेश सभामा लामाले दोलखा (क) बाट उम्मेदवारी दिएका थिए । त्यतिबेला माओवादी केन्द्रका विशाल खड्का विजयी भए । 

    यसैगरी, प्रदेश सभा तर्फ दोलखा (ख)मा नेपाली कांग्रेसबाट उम्मेदवार दिएका कुन्दनराज काफ्लेले पनि यसपटक दोलखामा पार्टीले युवालाई प्राथिमकिता दिएको बताए । ‘हामीसँग उत्साह र जोश छ । दोलखाको सम्बृद्धि र विकासकोलागि हामीले काम गछौं’ उनले भने ।  प्रदेश सभा तर्फ (क)मा एमालेबाट नरबहादुर श्रेष्ठ, नेकाबाट काफ्ले, राप्रपाबाट रामबहादुर तामाङ, जसपाबाट मानबहादर सुनवाुर, तथा दोलखा (ख)मा एमालेबाट भरतबहादुर केसी, नेपाली कांग्रेसबाट लामा, राप्रपाबाट राजन शिवाकोटी, जसपाबाट विछीकुमारी धामीले उम्मेदवारी दिएका छन् । 

    यसैगरी, २०७४ को निर्वाचनमा प्रदेश सभातर्फ दोलखा (क)मा माओवादीका उम्मेदवार विशाल खड्का तथा दोलखा (ख)मा एमालेका उम्मेदवार पशुपति चौलागाई विजय भएका थिए । त्यतिबेला नेपाली कांग्रेसबाट दोलखा (क)मा बर्मा लामा र (ख)मा केशवराज चौलागाइले उम्मेदवारी दिएका थिए । 


    तर, यसपटक दोलखामा नेपाली कांग्रेस र गठबन्धनका उम्मेदवार विजयी हुने लामाले दावी गरे । ‘परिस्थिति फेरिएको छ । यो पटक हामी विजय हुन्छौ’लामाले भने । एमाले, काँग्रेससंगै माओवादी केन्द्रको समेत राम्रो पकड भएको र यसपटक कांग्रेस माओवादी गठबन्धन भएका कारण दोलखामा पहिलेको भन्दा फरक नेतृत्व निर्वाचित हुने स्थानीयहरु बताउँछन् । 


    images
    images

    Logo