images
images

कांग्रेस पदाधिकारी बैठक बस्दै,१४औं महाधिवेशन विषयमा छलफल हुने 


  • 778
    SHARES
  • २०७८ जेठ २९ गते शनिबार

    कांग्रेस पदाधिकारी बैठक बस्दै,१४औं महाधिवेशन विषयमा छलफल हुने 

    काठमाडौं । नेपाली कांग्रेसले देउवा निवास बूढानीलकण्ठमा आज पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएको छ ।  

    बैठकमा पार्टीको १४औं महाधिवेशन र समसामयिक राजनीतिक विषयमा छलफल हुने पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

    कांग्रेसले १४औँ महाधिवेशनअन्तर्गत आगामी असारदेखि विभिन्न तहका अधिवेशनको मिति तय गरिसकेको र अझै केही जिल्ला तथा क्षेत्रको क्रियाशील सदस्यता विवरण टुङ्गिनसकेको कारण बैठकमा सो बारेमा छलफल हुनेछ । 

    यही जेठ २५ गतेसम्म कांग्रेसको वेबसाइटमा जम्मा आठ लाख ३१७ क्रियाशील सदस्यता विवरण ‘इन्ट्री’ भइसकेको केन्द्रीय कार्यालयका सचिव केशव रिजालले जानकारी दिए ।

    अब सप्तरी र सिन्धुपाल्चोकको पूरै तथा बाराका केही क्रियाशील सदस्यता विवरण आउन बाँकी रहेको उनले बताए । 

    त्यसमध्ये सिन्धुपाल्चोक जिल्ला कार्यसमितिले भने आज विवरण पेश गर्ने पार्टी कार्यालयले जनाएको छ । पदाधिकारी बैठकमा क्रियाशील सदस्यता विवरण बुझाउन बाँकी जिल्ला र क्षेत्रका लागि अतिरिक्त समय थप गर्ने बारेमा समेत छलफल हुने बताइएको छ ।

    कांग्रेसले १४औँ महाधिवेशनका लागि पार्टीको गाउँ÷नगर वडा अधिवेशन आगामी असार २० गते, गाउँ÷नगरपालिका अधिवेशन असार २२ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन असार २५ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार २७ गते तोकेको छ । 

    यसैगरी एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असार ३० गते, प्रदेश अधिवेशन आगामी साउन ६ गते र केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको छ ।

    बैठकमा कांग्रेससहित विपक्षी दलको गठबन्धनले हाल विभिन्न प्रदेशमा प्रदेश सरकार पुनःगठनका लागि गरेका प्रयासलगायत विषयमा पनि छलफल हुने बताइएको छ ।


    images
    images

    Logo