काठमाडौं । दोलखाको बिगु गाउँपालिका–१, लामाबगरमा निर्माणाधीन सुरुङ मार्ग अन्तिम चरणमा पुगेको छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको ड्यामभन्दा माथि लप्ची खोलामा १६० मेगावाट क्षमताको लप्ची खोला जलविद्युत् आयोजना निर्माण गरिरहेको एमभी दुगड हाइड्रोपावर प्रालिले आफ्नै लगानीमा यो सुरुङ मार्ग निर्माण गरिरहेको हो । एक हजार ७४ दशमलव १८ मिटर लामो सुरुङ मार्गमध्ये ८२५ मिटर ट्र्याक खोलिएको छ । आगामी पुस महिनासम्म सम्पन्न गर्ने गरी तीव्र रूपमा काम भइरहेको छ ।
आयोजना स्थलसम्म सडक निर्माण गर्न नसकिने भएपछि लप्ची खोला जलविद्युत् आयोजनाका लगानीकर्ताले यो सुरुङ मार्ग निर्माण गरेका हुन् । दुगड हाइड्रोपावरले सडक निर्माण गर्न हेलिकोप्टरबाट तीनवटा एक्साभेटरसहितका उपकरण र सामग्री लुम्नाङ पु¥याएर थोरै सडक निर्माण गरे पनि इन्धनलगायतका समस्याले सडक निर्माण हुन सकेन ।
सडक निर्माण गर्दा माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध, पोखरीमा असर पर्ने भएपछि दुगड हाइड्रोपावरले सुरुङ मार्ग निर्माण थालेको हो । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको हेडवक्र्सको दायाँतिरको भागमा यो सुरुङ निर्माण सुरु भएको हो ।
एक वर्षअघिदेखि नै काम सुरु गरिएको यो सुरुङ मार्गको लागत भने लगानीकर्ताले खुलाउन चाहेनन् । अहिले सडक सञ्जालले नजोडिएको बिगु गाउँपालिकाको लप्चीवासीलाई आवतजावतमा समस्या छ । लामाबगरबाट लुम्नाङ हुँदै लप्ची पुग्न दुई दिनको पैदल यात्रा गर्नुपर्छ ।
वर्षा लागेपछि त आवतजावत नै बन्द हुन्छ । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बाँध भरिएपछि ओहोरदोहोर गर्ने परम्परागत बाटोसमेत बन्द हुँदा चौँरी र भेडाबाख्रासमेत यही सुरुङ मार्गबाट हिँड्न मिल्ने गरी निर्माण हुन थालेको छ ।
जलविद्युत् आयोजनालाई सहज
लामाबगरभन्दा माथि लप्ची खोला र जुम खोलामा निजी क्षेत्रको लगानीमा तीन सय मेगावाटभन्दा बढीका करिब आधा दर्जन जलविद्युत् आयोजना निर्माण प्रक्रियामा रहे पनि सडक अभावका कारण रोकिएका छन् ।



