काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगम लाई २४ घण्टे स्पष्टीकरण सोधेको छ ।उडान तालिका स्वीकृत नगराई यात्रुलाई बोर्डिङ पास दिएको भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले निगमलाई यस्ताे प्रष्टीकरण साेधेकाे हाे ।
प्राधिकरणले आज प्रेस विज्ञप्ति जारी गर्दै उडान स्वीकृत नभई बोर्डिङ पास दिएर विमानस्थलको सुरक्षामा गम्भीर असर जनाएकाे छ ।
उडान अनुमतिबिना नै यात्रुलाई बोर्डिङ पास दिएर अलपत्र पार्ने निगमलाई २४ घण्टाभित्र के कारणले उडान गर्न खोजिएको हो भन्ने जवाफ पठाउन भनिएकाे छ ।
‘उडान नभएको दिनमा यात्रुलाई विमानस्थलमा बोलाएर गैरकानुनी तरिकाले बोर्डिङ पाससमेत उपलब्ध गराई याुत्रलाई वैकल्पिक व्यवस्था नगरी, किन समयमै खबर गरिएन, गैरसैनिक हवाई उडान ऐन, २०१५ तथा नियमावली, २०७३ बमोजिम विमानस्थलको सुरक्षा व्यवस्थामा गम्भीर असर पारेकाले निगमलाई स्पष्टीकरण सोधिएको हो,' विज्ञप्तिमा भनिएको छ ।
निगमले सिकागो महासन्धि तथा अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आइकाओ) को उडान सुरक्षा मापदण्ड र नेपाल नागरिक उड्डयन प्राधिकरण ऐन, २०५३ तथा नागरिक उड्डयन नियमावली, २०४८ अनुसार नेपालको हवाई क्षेत्रमा उडान अवतरणका लागि प्राधिकरणको अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था विपरीत काम गरेको प्राधिकरणले जनाएको छ ।