काठमाडौं । पार्टी फुटलाई अन्तिम समयमा साथ नदिएर पछि हटेका राजनीतिक वृत्तमा १० भाइ भनेर चिनिन्छ । याेगेश भट्टराई, घनश्याम भुसाल, युवराज ज्ञवाली, रघुजी पन्त, भीम रावल, अष्टलक्ष्मी शाक्य, भीम आचार्य, गाेकर्ण विष्ट र अमृत बाेहाेरा याे सूचीमा पर्छन् ।
१० बुँदे सहमति गरेर पार्टीमै बसेका उनीहरु नयाँ चेपुवामा परेका छन् । अध्यक्ष ओलीले उनीहरुलाई टिकट लिने भए विगतमा आफूले गल्ती गरेकाे भन्दै आत्मालाेचना गर्न भनेका छन् ।
अहिले १० भाइमध्ये अधिकांश माधव नेपाल र एकीकृत समाजवादीकाे खुलेर विराेध गर्छन् । भीम रावल र घनश्याम भुसालबाहेक अरु नेताहरु अाेलीकाे कट्टर समर्थक बनिसकेका छन् । तर, विगतकाे आफ्नाे गतिविधिकाे भने उनीहरु बचाउ गर्दै आएका छन् । ओलीको नयाँ शर्तपछि उनीहरु थप अप्ठ्यारोमा पर्ने देखिएकाे छ ।
त्यसाे त यसअघि महाधिवेशनमा पनि पार्टीभित्र ती नेताहरु पेलिएका थिए । विद्राेही कुनै पनि नेताहरु महाधिवेशनबाट बढुवा भएनन् । भीम रावल र घनश्याम भुसाल त पदाधिकारीबाटै बाहिरिए । यद्यपि अहिले भीम रावल, गाेकर्ण विष्ट र याेगेश भट्टराईप्रति भने अाेली धेरै अनुदार नभएकाे बताइन्छ ।