images
images

औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने


  • 393
    SHARES
  • २०७९ आश्विन ११ गते मंगलबार

    औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने

    काठमाडौं । जग्गा  विवादका  कारण  विगत  छ  वर्षदेखि  अलपत्र पर्दै आएको बुटवल–१७, मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अघि बढ्ने भएको छ । लामो  समय  बसोबास  गरेका  र  लालपुर्जा  भएका स्थानीयवासीले मोतीपुर क्षेत्रको जग्गा खाली नगरेपछि विगत छ वर्षदेखि मोतीपुर औद्योगिक क्षेत्र निर्माणको काम अन्योलमा परेको थियो । 

    मोतीपुर  औद्योगिक  क्षेत्रको  जग्गासम्बन्धी  समस्या समाधान र सहजीकरणका लागि गएको भदौ १० गते गृहमन्त्री बालकृष्ण खाणको उपस्थितिमा जिल्ला  समन्वय  समितिका  प्रमुखको  नेतृत्वमा  कार्यदल बनेको थियो । कार्यदलले ड्रोनबाट जग्गा नापजाँच सकेर प्रतिवेदन तयार गर्ने र सोहीअनुसार प्राप्त  विवरणका  आधारमा  औद्योगिक  क्षेत्रको  जग्गा  यकिन  गर्नेगरी  प्रतिवेदन  तयार  गरेपछि  औद्योगिक क्षेत्र निर्माणको काम सहज हुने बुटवल उपमहानगरपालिकाले जनाएको छ ।  

    बुटवल   उपमहानगरपालिकाका   प्रमुख   खेलराज  पाण्डेले  प्राविधिक  टोलीले  नापजाँचपछि  तयार पार्ने तथ्याङ्कका आधारमा मोतीपुर औद्योगिक क्षेत्रको वास्तविक जग्गा छुट्टिने र औद्योगिक क्षेत्र निर्माणका लागि सहज हुने बताए । उहाँले प्राविधिक  टोलीले  उपलब्ध  गराउने  तथ्याङ्कका  आधारमा  औद्योगिक  क्षेत्र  बनाउन  योग्य  जग्गा  र  अन्य  जग्गा  छुट्याएर  औद्योगिक  क्षेत्रका  लागि सिफारिस गर्ने र सोही क्षेत्रमा औद्योगिक क्षेत्र बन्ने बताए । बुटवल उपमहानगरपालिकाको पहलमा जग्गा यकिन हुन लागेको हो । 

    पाँच वर्षभित्र निर्माण पूरा गर्नेगरी २०७२ चैत १ मा औद्योगिक क्षेत्र निर्माण गर्ने घोषणा गरिएको भए पनि स्थानीयवासीको अवरोध र जग्गाको क्षेत्र यकिन नहुँदा औद्योगिक क्षेत्र निर्माणको काम अलपत्र परेको थियो । कार्यदलको  संयोजनमा  मोतीपुर  औद्योगिक  क्षेत्रको  जग्गाको  नापजाँचको  काम  पूरा  भएको  छ  ।  

    बुटवल–१७,  रानीगञ्जस्थित  जनशक्ति  प्राथमिक विद्यालय नजिकैबाट सुरु भएको जग्गा नापजाँचको काम ११ दिनमा पूरा भएको मोतीपुर औद्योगिक क्षेत्रको जग्गासम्बन्धी समस्या समाधान र  सहजीकरण  कार्यदलका  संयोजक  उमाकान्त  चपाईंले जानकारी दिए । उनले २०२६ सालदेखि जोतभोग गर्दै आएका र लालपुर्जा नै रहेका जग्गा जसको  हो उसैलाई  दिलाउने  प्रक्रिया  कार्यदलले  बुझाउने प्रतिवेदनपछि अघि बढ्ने गरी काम हुने बताए । 


    images
    images

    Logo