काठमाडौं । नेपाली काँग्रेस उदयपुरका पूर्व सभापति विदुर बस्नेतले प्रदेश सभा सदस्य निर्वाचनका लागि समानुपातिकतर्फ आफ्नो नाम राखिएकोमा आपत्ति जनाएका छन् ।
विहीवार विज्ञप्त्ति जारी गर्दै उनले समानुपातिकमा आफ्नो दाबी नरहेको र कुनै पनि क्षेत्रबाट सिफारिस समेत नभएको अवस्थामा समानुपातिकको बन्द सूचीमा नाम राखिएको भन्दै आपत्ति जनाएका हुन् । उनले सूचीबाट आफ्नो नाम तत्काल हटाउन समेत माग गरेका छन् ।
तीन पटकसम्म पार्टीको जिल्ला सभापति भएका बस्नेत उदयपुर निर्वाचन क्षेत्र नम्बर १ बाट प्रत्यक्षतर्फ उम्मेदवारीको दाबी गर्दै आएका थिए । उनले सो क्षेत्रबाट प्रत्यक्ष बाहेक अन्य कुनै पनि दाबी नरहेको प्रष्ट पारेका छन् ।
बन्द सूचीमा नाम समावेश गर्नुअघि आफुलाई एकपटक पनि नसोधिएको भन्दै उनले भनेका छन्, ‘कहीँ कतैबाट मेरो नाम सिफारिस नै नभएको अवस्थामा नेपाली काँग्रेसले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा मेरो नाम पनि रहेको कुरा व्यापक रुपले बाहिर आएको हुँदा म आश्चर्यचकित भएको छु ।’




