images
images

सेबोन अध्यक्ष हमाल भन्छन्, 'शेयर बजारमा कायापलट हुन्छ भनेर सोच्न सकिँदैन'


  • 668
    SHARES
  • २०७९ भाद्र १४ गते मंगलबार

    सेबोन अध्यक्ष हमाल भन्छन्, 'शेयर बजारमा कायापलट हुन्छ भनेर सोच्न सकिँदैन'

    काठमाडौं । नेपाल  धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले पुँजी बजारको विकासका लागि नियामक निकाय स्वायत्त हुनुपर्ने बताएका छन् ।

    सोमबार नेपाल आर्थिक पत्रकर समाज (सेजन) ले आयोजना गरेको ‘पुँजीबजारको विकास सम्बन्धी नीतिगत बहस कार्यक्रममा हमालले धितोपत्र बोर्ड र नेपाल स्टक एक्सचेञ्ज (नेप्से) स्वायत्त हुनुपर्ने बताए । त्यसको लागि अर्थ मन्त्रालयसँग कुरा भइरहेको जानकारी गराए ।

    ‘सेयर बजारको विकास विस्तारका लागि धितोपत्र बोर्ड, नेप्से स्वायत्त हुनैपर्छ, त्यो अहिले सम्भावना देखिँदैन, संसारका सबै नियामक निकाय स्वायत्त रहेका छन् हामी स्वायत्त छैनौ’ उनले भने, ‘हामी अर्थ मन्त्रालयको विभाग जस्ता रहेका छौं ।’

    सेबोन, नेप्से दुवै निकाय विभाग जस्तो भएर बस्नुपर्दा बजारको विकास सम्भव नभएको हमालको तर्क छ । अहिलेको अवस्थामा सेयर बजारमा कायालपट गर्छु भनेर सोच्न नसकिने उनको तर्क छ ।

    ‘नेप्से मन्त्रालयको शाखा जस्तो भएपछि विश्वासयोग्य काम गर्न सक्छ कि सक्दैन, धितोपत्र बोर्ड पनि मन्त्रालयको शाखा जस्तो भएपछि लगानीकर्ता, ब्रोकरले चोहेको जस्तो द्रुत गतिमा काम गर्न सक्दैन?’ अध्यक्ष हमालले भने ‘त्यसकारण हामीले स्वायत्तताका लागि सरकारसँग कुरा गरिरहेका छौं । हामीले सबैले चाहेको जस्तो सुधारका लागि काम गरिरहेका छौं ।’ अध्यक्ष हमालले बोर्ड, नेप्से स्वायत्त भएनन् भनेर चुप लागेर पनि नबसेको धारणा राखे ।  उनले अहिलेको बाध्यात्मक अवस्थाका बाबजुत पनि गर्नुपर्ने काम नियमित रुपमा तिब्र गतिमा गर्ने प्रयास भइरहेको तर्क गरे ।

    कार्यक्रममा अध्यक्ष हमालले सेयर बजारको विकास र विस्तारका लागि प्रतिस्पर्धा आवश्यक रहेको बताए । बजारमा एकाधिकार कायम हुन नहुने भन्दै स्वस्थ प्रतिस्पर्धा आवश्यक भएको धारणा राखे । बजारमा प्रतिस्पर्धा भएमात्रै बजारले गति लिने र लगानीकर्ताको लागत घटने धारणा राखे ।

    साथै, अध्यक्ष हमालले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको बताएका छन् । उनले पूँजी बजारलाई जुवाघर भन्नु गलत भएको र बुझाइमा पनि कमि भएको धारणा राखेका हुन् ।

    ‘बजारमा मोनोपोली हुनु हुँदैन, प्रतिस्पर्धा हुनुपर्छ, हामीले सी–आश्वा शुल्क घटाएका छौँ’ उनले भने ‘नेप्से र सेबोनले लिने शुल्कमा पनि घटाउन अध्ययन गरिरहेका छौं ।’

    कार्यक्रममा उनले ब्रोकरको शाखा खोल्नका लागि बोर्डले अनुमती दिनुपर्ने भन्दा पनि योग्य ब्रोकर छन् भने उसले आफ्नो क्षमता अनुसार को शाखा खोल्न पाउनुपर्ने बताए ।

    हमालले भेन्चर क्यापिटलका लागि २ वटा कम्पनीलाई लाइसेन्स दिइसकेको र यो साता भित्रमा थप ७ वटा कम्पनीलाई पनि अनुमति दिने जानकारी गराए ।

    कार्यक्रममा अध्यक्ष हमालले सेयर बजारमा लगानीकर्ताको सहभागिता बढेसँगै अब पूर्ण डिजिटल कारोबार आवश्यक रहेको बताए । सेयर बजारलाई विकास गर्न भौतिक उपस्थिती भन्दा पनि डिजिटल हुनुपर्ने बताए । मार्जिन ट्रेडिङ गर्नका लागि पनि प्रविधिको विकास प्रभावकारी रुपमा हुनुपर्ने धारणा राखे ।


    images
    images

    Logo