भक्तपुर । नेपाली काँग्रेस भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले आसन्न निर्वाचनमा भक्तपुर क्षेत्र नं २ बाट काँग्रेसको जित निश्चित भएको बताएका छन् । भक्तपुरमा आयोजित कार्यक्रममा थापाले एक्लाएक्लै भिड्छु भन्ने घमण्ड गर्नेलाई यसपटक धुलो चटाउने घोषणा गरेका हुन् ।
एमाले नेता महेश बस्नेतले एक्लै लडेर हराउँछु भन्दै दिएको अभिव्यक्तिलाई लक्षित गर्दै थापाले बैशाखी टेकेर प्राप्त भएको जितमा धेरै घमण्ड नगर्न चेतावनी दिए । ‘सिंगल सिंगल भिड्छु भन्नेहरुलाई यसअघि पनि धूलो चटाएकै हौँ । ०७४ सालमा माओवादीको बैशाखी टेकेर जितेँ भन्दैमा घमण्ड नगरे हुन्छ, यस पटक धूलो चटाउँछौ,’ उनले भने ।
आफूले माओवादीकै वैशाखी टेकेर चुनाव लड्दा पवित्र हुने, अरुले गठबन्धन गर्दा चाहिँ अपवित्र हुने कुरा गरेर भ्रम सिर्जना गरेको भन्दै ३ वर्ष पनि टिक्न नसक्ने गठबन्धन र एकता नै अपवित्र रहेको थापाले उल्लेख गरे ।
उनले बस्नेतलाई भक्तपुरका नवयुवराजको उपमा समेत दिए । ‘भक्तपुरका नवयुवराजलाई पछार्नु पर्छ । थापाले थपे, 'हिजो राजनीतिक व्यापारीहरुसँग कमाएको पैसा, सांसद अपहरणमा कमाएको पैसा बाँडेर टिकट खरिद गर्ने र चुनाव जित्छु भनेर हल्ला चलाएका छन्, तिनले अब चुनाव जित्ने हैसियत राख्न सक्दैनन् ।’
थापाले काठमाडौंका मेयर बालेन्द्र शाहको कदममा समर्थन जनाउंदै शाहले अल्फा बिटाको अवैधानिक संरचना हटाएर निकै राम्रो गरेको र त्यसमा काँग्रेसको समर्थन रहेको बताए । उनले सांसद महेश बस्नेतले बालेनलाई गरेको गालीले त्यस्ता व्यापारीसँग साँठगाठ रहेको र लुटेको धन त्यस्ता व्यवसायमा लगानी गरेकाले विरोध गरेको हुनसक्ने समेत बताए ।
अहिलेको गठबन्धनको राजनीतिबाटै संघ र प्रदेशको लागि उम्मेदवार चयन गर्न जिल्लास्तरमा पनि छलफल भइरहेको थापाले उनको भनाइ थियो । गठबन्धनलाई सफल बनाउन काँग्रेस, नेकपा माओवादी, नेकपा समाजवादीलगायतका गठबन्धनका दलहरु समेतको सहभागितामा चुनावी अभियान सञ्चालन गर्ने उनले बताए ।
मंसिर ४ को निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ बाट संघीय सांसदमा आफ्नो पनि उम्मेदवारी घोषणा गर्नु स्वभाविकै रहेको उनको भनाइ छ । ‘काँग्रेसको तर्फबाट संघीय सांसदमा मेरो उम्मेदवारी स्वभाविकै हो, जनताले पनि त्यही चाहिरहेका छन् । तर अन्य नेताहरुले पनि स्वभाविक रुपमा उम्मेदवारी घोषणा गरेका छन्, तर गठबन्धनले निर्णय जसलाई गर्छ त्यही नै आधिकारिक उम्मेदवार हो, जुनसुकै पार्टीबाट गठबन्धनले उम्मेदवारी दिए पनि जिताउन एक भएर लाग्नेछौँ ।’



