images
images

पर्यटक लोभ्याउँदै कालघारी झरना


  • 613
    SHARES
  • २०७८ बैशाख ११ गते शनिबार

    पर्यटक लोभ्याउँदै कालघारी झरना

    दोलखा । पर्यटकीय क्षेत्र दोलखाको वैतेश्वर गाउँपालिका–८ शीतलबस्तीस्थित कालाघारी झर्ना पर्यटकको आकर्षणको केन्द्रको रूपमा स्थापित हुँदै गएको छ । 

    झर्नाको मनोरम दृश्य र पौडी खेल्नका लागि पर्यटक यहाँ पुग्ने गरेका छन् । झर्नामा बाह्रै महीना पानी उत्तिकै मात्रामा बग्ने गर्छ । झर्नाबाट झरेको पानीको फोहोराले पर्यटकको मन लोभ्याउने गरेको छ । दैनिक १० देखि १२ समूह झर्ना भएको स्थलमा रमाइलो गर्न पुग्ने गरेको गाउँपालिकाले जनाएको छ । 

    गाउँपालिकाले यहाँसम्म पुग्ने पदमार्ग निर्माण गरिदिएपछि आन्तरिक पर्यटकको आकर्षण बढेको हो । उनीहरूले यहाँ पुगेर पौडीसँगै झरनाको मनोरम दृश्य अवलोकन गर्ने गरेका छन् । यसलाई अझ प्रचारप्रसारसँगै आवश्यक पूर्वाधारको विकास गर्न सके गाउँपालिकालाई आर्थिक स्रोत सङ्कलन गर्न सहज हुने स्थानीयवासीको भनाइ छ ।

    सो गाउँपालिका–८ का वडाध्यक्ष रमेशकुमार अधिकारीले भने, ‘यो झर्ना प्रचारप्रसारको अभावले ओझेलमा थियो । तर, गाउँपालिकाले पदमार्ग निर्माण गरिदिएपछि अहिले यहाँ आउने पर्यटकको सङ्ख्यामा वृद्धि भइरहेको छ ।’

    विगतमा प्रचारप्रसारको अभावले यो झर्ना निकै ओझेलमा परेको देखिन्छ । तर, स्थानीय सरकार सञ्चालनमा आएपछि यसले प्राथमिकता पाएको छ । गाउँपालिकाले सो क्षेत्रमा पुग्नका लागि रु २० लाखको लागतमा करिब एक हजार ८०० वटा सिँढी र प्रतिक्षालय निर्माण गरिदिएपछि अन्तरिक पर्यटकको आगमन बढेको हो । ‘यस झर्नाको विकास गर्नका लागि काम भइरहेको छ’, वडाध्यक्ष अधिकारीले भने, ‘हाम्रो गाउँपालिका पर्यटकीय तवरले निकै राम्रो छ, यहाँका पर्यटकीय क्षेत्रको विकासमा गाउँपालिका लागेको छ । यो झर्ना हेर्न आउने पर्यटकका लागि विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरेर संरचना निर्माणका काम अगाडि बढाउँछौं ।’ 

    केही वर्षअघिसम्म प्रचारप्रसारको अभावमा ओझेलमा परेको झर्ना पछिल्लो समय दोलखाको पर्यटकीय गन्तव्यमध्येकै एक गन्तव्यका रूपमा  विकास भइरहेको छ । पर्यटकलाई लक्षित गरी यस झर्नामा गाउँपालिका तथा प्रदेश सरकारको सहयोगमा धमाधम पूर्वाधार विकासको काम पनि भइरहेको छ । 

    गाउँपालिका–८ शीतलबस्तीबाट सडक सञ्जालले नजिकै भएता पनि भौगोलिक अवस्था तथा पर्यटकलाई अकर्षित गराउन सिँढी निर्माण गरिएको छ । पूर्वाधार निर्माणका लागि गाउँपालिकाले रु पाँच लाख, वडा कार्यालयले रु पाँच लाख र वाग्मती प्रदेश सरकारको पूर्वाधार विकास कार्यक्रमअन्तर्गत सांसद विशाल खड्काद्वारा रु १० लाखको संयुक्त लगानीमा आवश्यक पूर्वाधार निर्माणको काम भइरहेको छ । 

    यहाँ आकर्षक झर्नाका साथै साहसिक खेलको राम्रो सम्भावना रहेकाले त्यस्ता खेलका बारेमा पनि अध्ययन भइरहेको अध्यक्ष अधिकारीको भनाइ छ । 


    images
    images

    Logo