images
images

साउनमा २ अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात गर्न प्रस्ताव


  • 447
    SHARES
  • २०७९ भाद्र ५ गते आइतबार

    साउनमा २ अर्बको विद्युत निर्यात, थप १११ मेगावाट निर्यात गर्न प्रस्ताव

    काठमाडौं। चालु आर्थिक वर्ष (आव) २०७९/८०को पहिलो महिनामा झण्डै २ अर्ब रुपैयाँको विद्युत भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत प्राधिकरणले चालु आवको साउन महिनामा १ अर्ब ८३ करोड ८८ लाख ७६ हजार रुपैयाँको विद्युत निर्यात गरेको छ ।

    प्राधिकरणले देशभित्र खपत गरी बढी भएको २४ करोड २६ लाख ८३ हजार युनिट विद्युत साउनमा भारततर्फ निर्यात गरेको हो । विद्युत निर्यातबाट साउनमा औसतमा दैनिक ५ करोड ९३ लाख रुपैयाँ कमाउन प्राधिकरण सफल भएको छ ।

    प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत १९ जेठबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स)को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो ।

    सुरुमा दुईवटा विद्युतगृहको ३९ मेगावाट उत्पादित विद्युतलाई स्रोत मानी  दैनिक रुपमा आइएक्समा बिक्री गरिएको थियो । त्यसपछि २७ जेठबाट दैनिक रुपमा ६ वटा जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री हुँदै आएको छ । आइएक्समा २४ घण्टालाई १५÷१५ मिनेटको ९६ वटा ब्ल्कमा विभाजन गरी बजारले तय गरेको प्रतिश्पर्धी दरमा विद्युतको कारोबार गरिन्छ । त्यसैले हरेक ब्ल्कको मूल्य फरक–फरक हुने गरेको छ ।

    गत आव २०७८र७९मा ३ अर्ब ८८ करोड रुपैयाँको विद्युत निर्यात भएको थियो । ढल्केबर–मुजफ्फरपुर ४ सय केभी अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत निर्यात भइरहेको छ ।  

    गत आवमा प्राधिकरणको सौर्य प्लान्ट, माथिल्लो तामाकोशी र निजी क्षेत्रका जलविद्युत तथा सौर्य आयोजनाको  कुल ७ सय ३५ मेगावाट विद्युत प्रणालीमा थप भएको थियो ।

    योसँगै वर्षायाममा देशभित्रको माग भन्दा बढी उत्पादन गर्न सकिने अवस्था आएकोले भारतीय बजारमा प्रतिश्पर्धामार्फत विद्युत बिक्री गर्न सफल भएको प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । 

    ‘विद्युत निर्यात वृद्धि हुँदा प्राधिकरणको आर्थिक अवस्थामा सुधार आउनुका साथै हाम्रो देशको विदेशी मुद्रा सञ्चितीमा वृद्धि भई राष्ट्रिय अर्थतन्त्रमा समेत ठूलो टेवा पुगेको छ, दुई मुलुकबीचको  व्यापार घाटालाई समेत केही कम गर्न सहयोग भएको छ’, कार्यकारी निर्देशक घिसिङले भने। 

    ‘मुलुकमा विद्युत उत्पादन दिनानुदिन थप हुँदै गइरहेको हुँदा घरायसी  खपत र औद्योगिक खपत बढाउन आवश्यक छ, यसका लागि प्रसारण तथा वितरण लाइनको विकास र सुधार गर्नुका साथै उद्योगीले बिशेष सेवा र सुविधा प्राप्त गर्ने ब्यवस्था मिलाइने छ ।’

    थप १११ मेगावाट निर्यात प्रस्ताव

    नेपाल विद्युत प्राधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको थप १ सय ११ मेगावाट विद्युत  इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड ९आइएक्स०को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्रीको प्रस्ताव गरेको छ ।

    प्राधिकरणले ४ जलविद्युतगृहबाट उत्पादित विद्युतलाई स्रोत मानी आइएक्समा प्रतिश्पर्धाबाट बिक्रीका लागि भारत सरकारको विद्युत मन्त्रालय अन्तर्गतको केन्द्रीय विद्युत प्राधिकरणमा अनुमतिका लागि प्रस्ताव पेश गरेको हो । केन्द्रीय विद्युत प्राधिकरणबाट अनुमति पाएपछि थप विद्युत निर्यात सुरु हुने छ ।

    प्राधिकरणले ४२ मेगावाटको मिस्त्रीखोला, २४.२ मेगावाटको लिखूखोला ‘ए’, २३.५ मेगावाटको सोलूखोला,  २२.१ मेगावाटको चिलिमेको विद्युगृहबाट उत्पादित १११.८ मेगावाट विद्युत निर्यातको प्रस्ताव स्वीकृतिका लागि पेश गरिएको छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले थप विद्युत निर्यातका लागि भारत सरकारबाट छिट्टै अनुमति प्राप्त हुनेम विश्वास व्यक्त गरे ।  

    ‘नेपाल र भारतको बिहार राज्यबीच विद्युत आदान–प्रदान गर्न निर्माण गरिएको १सय ३२ केभी प्रसारण लाइनको पूर्ण सदुपयोग हुने गरी वर्षायाममा बचत भएको विद्युत उत्तर बिहार पावर वितरण कम्पनी बाहेका निकायहरुलाई समेत बिक्री गर्न भारत सरकारका सम्बन्धित निकायहरुसँग आवश्यक भइरहेको छ’, उनले भने । 

    भारतको केन्द्रीय विद्युत् प्रणाली अन्तर्गत दैनिक विद्युत् बजार (डे अहेड मार्केट) मा विद्युत बिक्री गरिन्छ छ । प्राधिकरणले हरेक दिन बिहान १० बजेदेखि मध्यान्न १२ बजेसम्म एक्सचेन्ज बजारमा बिक्री गरिने विद्युतको परिमाणसहित बिडमा प्रतिस्पर्धा छ । 

    विद्युत प्रणालीमार्फत तय हुने ‘मार्केट क्लियरिङ प्राइस’का आधारमा विद्युतको प्रति युनिट बिक्री दर तय हुन्छ । प्रतिश्पर्धी दर तय भएपछि रातिको १२ बजेदेखि अर्को दिनको रातको १२ बजेसम्म अर्थात २४ घण्टा विद्युत निर्यात गरिन्छ ।

    प्राधिकरणकोतर्फबाट एक्सचेन्ज बजारको सम्पूर्ण कारोबार नेपालसँगको विद्युत् व्यापारका लागि तोकिएको सम्पर्क निकाय एनटिपिसी विद्युत व्यापार निगम (एनभीभीएन)ले गर्छ छ । एनभीभीएनले हरेक दिनको कारोबार सम्बन्धी विवरण प्रत्येक दिन साँझ ६ बजे प्राधिकरणलाई पठाउँछ ।  


    images
    images

    Logo