काठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य नघटाउने भएको छ । निगमले मंगलवार विज्ञप्ति जारी गर्दै इन्धनको मूल्य नघट्ने जनाएको हो ।
आइओसीबाट इन्धनको मूल्य घटेर आएपनि निगम घाटामा रहेकाले तत्कालका लागि इन्धनको मूल्य यथावत राख्ने निगमले जनाएको छ । मंगलवार आइओसीले पठाएको नयाँ मूल्य अनुसार पेट्रोलमा प्रतिलिटर ४ रुपैयाँ ४७ पैसा नाफा तथा डिजेलमा प्रतिलिटर ४ रुपैयाँ ५० पैसा घाटा खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर ४ सय ९९ रुपैयाँ ५७ पैसा घाटा रहेको निगमले जनाएको छ ।
मट्टितेल र हवाई इन्धनमा भएको नाफा समेतलाई गणना गर्दा निगमलाई अझै मासिक ६२ करोड ५८ लाख घाटा रहेको छ । निगमले इन्धन खरिद गरेवापतको भुक्तनी समयमा नै गर्न नसक्दा बक्यौता रकम बढ्दै गएपछि सरकारसँग ७ अर्ब र राष्ट्रिय वाणिज्य बैंकबाट ३ अर्ब ऋण लिएको थियो । जसमा पेट्रोलियम पदार्थको विक्रीबाट संकलन भएको रकम समेत गरि आईओसीलाई भुक्तानी गर्दा समेत अझै आईओसीलाई बुझाउनु पर्ने रकम २३ अर्ब रुपैयाँ रहेको छ ।
निगमले आईओसीलाई पेट्रोलियम पदार्थ खरिद गरेबापत विगत ४ महिनादेखि भुक्तानी गर्न नसकेको रकम अझै २३ अर्ब रुपैयाँ भएकाले पेट्रोलियम पदार्थको बिक्री मूल्य हाललाई यथावत नै राख्ने भएकाे छ ।




