images
images

स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी


  • 342
    SHARES
  • २०८० आषाढ ३ गते आइतबार

    स्वास्थ्य बीमा कार्यक्रमः काभ्रेपलाञ्चोकमा ४० प्रतिशत सहभागी
    काठमाडौं । सरकारले सुरु गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत काभ्रेपलाञ्चोकमा ४० प्रतिशत नागरिक आबद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बीमा बोर्डका अनुसार ४०.१२ प्रतिशत अर्थात् १ लाख ४६ हजार ७४ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा सहभागी भएका छन् । 
     
    राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको कुल जनसङ्ख्या ३ लाख ६४ हजार ३९ मध्ये ७० हजार ६ सय १७ पुरुष र ७५ हजार ४ सय महिला सरकारी स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । बोर्डका दर्ता अधिकारी सरस्वती सिग्देलका अनुसार बनेपा नगरपालिकामा सबैभन्दा बढी र खानीखोला गाउँपालिकामा सबैभन्दा कम नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् । जिल्लामा१३ स्थानीय तह छन् । 
     
    हालसम्म बनेपा नगरमा २९ हजार २ सय ६६, धुलिखेल नगरमा २८ हजार ९ सय, पनौती नगरमा २४ हजार ७ सय १ जना, पाँचखाल नगरमा १७ हजार ५ सय ६२ र मण्डनदेउपुर नगरमा १३ हजार ४ सय ३३ नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएका छन् ।
     
    यस्तै नमोबुद्ध नगरमा ९ हजार २ सय ५३, रोशी गाउँपालिकामा ७ हजार ९ सय २, तेमालमा २ हजार २ सय ९३, महाभारतमा १ हजार ५ सय १६, चौँरीदेउरालीमा २ हजार ७, भुम्लुमा ५ हजार चार सय ९०, बेथानचोकमा दुई हजार आठ सय ५२ र खानीखोला गाउँपालिकामा आठ सय ९९ नागरिकले स्वास्थ्य बीमामा गराएका हुन् ।
     
    बोर्डका अनुसार कूल विमितमध्ये ८ हजार ८ सय ७१ ज्येष्ठ नागरिक, २ सय १२ एचआइभी सङ्क्रमित, ३ हजार १ सय १३ पूर्णअपाङ्गता भएका व्यक्ति, एक सय ५१ कुष्ठरोगी र आठ कडा खालको क्षयरोग लागेका व्यक्ति तथा २ हजार ६ सय ७३ महिला स्वास्थ्य स्वयम्सेविका छन् । 
     
    सरकारले महिला स्वास्थ्य स्वयंसेविकालाई बीमा गर्दा ५० प्रतिशत छुट, ज्येष्ठ नागरिकको निःशुल्क, पूर्ण अपाङ्गता भएका, कुष्ठरोगी र एचआइभी सङ्क्रमितका परिवारलाई बीमा रकममा शतप्रतिशत छुट दिँदै आएको छ । काभ्रेपलाञ्चोकमा २०७६ साल भदौ २४ गतेदेखि स्वास्थ्य बीमा कार्यक्रम लागू गरिएको हो । बीमा कार्यक्रमका लागि प्रत्येक वडामा एक सहयोगीका दरले एक सय ३५ सहयोगी खटाइएका छन् । 
     
    जिल्लामा धुलिखेल सामुदायिक अस्पताल, मेथिनकोट प्रादेशिक अस्पताल, बनेपास्थित रेयुकाई एईको मासुनागा आँखा अस्पताल, पाँचखाल प्राथमिक स्वास्थ्य केन्द्र, धुलिखेल प्राथमिक स्वास्थ्य केन्द्र, खोपासी प्राथमिक स्वास्थ्य केन्द्र र सुन्थान प्राथमिक स्वास्थ्य केन्द्रमा विमितलाई उपचार सुविधा उपलब्ध गराइएको छ । 

     


    images
    images

    Logo