काठमाडौं । नेपाल सुशासन पार्टी र नेपाल आमा पार्टीबीच निकट भविष्यमै पार्टी एकता हुने भएको छ । मंगलबार दुई दलले संयुक्त पत्रकार सम्मेलन गरी निकट भविष्यमै पार्टी एकताको हुन लागेको बताएका हुन् ।
पार्टी एकताका लागि वार्ता अन्तिम चरणमा पुगेको र निकट भविष्यमै नेपाली राजनीतिको वैकल्पिक शक्तिका रूपमा उदाउने बताइएको छ । उक्त वैकल्पिक राजनैतिक शक्ति निर्माणमा सहभागी हुन देशभक्त राजनीतिक दल, बुद्धिजीवी, नागरिक समाजका अगुवा र स्वतन्त्र नागरिकलाईसमेत आह्वान गरिएको छ ।
‘निर्वाचन आयोगमा दल दर्ता नं. १८ को नेपाल आमा पार्टी र दल दर्ता नं. १७७ को नेपाल सुशासन पार्टी निकट भविष्यमै एकीकरण हुने र यस सम्वन्धमा वार्ता अन्तिम चरणमा पुगेको घोषणा गर्न र वैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि आह्वान गर्न हामी उपस्थित भएका छौं,’– नेपाल आमा पार्टीका महासचिव विश्वनाथ गौतम र नेपाल सुशासन पार्टीका महासचिव गोविन्द गिरीद्वारा जारी गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ ।
यी दूई पार्टी गत २०७९ मंसिर ४ को आम निर्वाचनमा पनि बच्चा काखमा लिएकी आमा चुनाव चिन्ह लिएर चुनाव चिन्ह लिएर संयुक्त रुपमा चुनावी अभियानमा सहभागी भएका थिए । नयाँ राजनीतिक शक्तिका रुपमा उदायका दलहरु पनि यथास्थितिमा रमाएको उनीहरुको आरोप छ । पदलोलुप प्रवृत्तिले राष्ट्रको भलो नगर्ने उनीहरुको ठम्याईँ छ ।
नेपाल आमा पार्टीका महासचिव गौतमले राजनीतिका एकाधिकार जमाइरहेका ठूला दलहरुले एक्लैएक्लै चुनाव लड्न नसकेर संगठित रुपमा पार्टीहरुसँग तालमेल गरको आरोप लगाए । यसरी ठूला दलहरुले तालमेल गरेर चुनावमा सहभागी हुँदा नैतिवान, इमानदार र देशभक्त साना दलहरु राजनीतिमा उदाउन नपाएको उनको दाबी छ । समाजमा जन्मिने राजनीतिको गन्तव्य पनि समाज नै हुनुपर्ने उनको भनाई छ । अहिले राजनीति रूपान्तरण भएपनि समाज रूपान्तरण हुन नसकेको उनको दाबी छ ।
महासचिव गौतमले आफूहरु राष्ट्रवाद, स्वाधीनता, राष्ट्रियता र सुशासनजस्ता विषयलाई लिएर अगाडि बढिरहेको दाबी गरे । अहिलेको पुराना राजनीतिक दल फन्ड र फण्डामा चलेकोे गौतमको आरोप छ । दुई पार्टीबीच एकीकरणको मूल उद्देश्य राजनीति सिद्धान्तको आधारमा चल्नुपर्छ र आफ्नो मौलिकताको आधारमा चल्नुपर्छ भन्ने रहेको उनको भनाई छ ।
नेपाल सुशासान पार्टीका महासचिव गोविन्द गिरीले पार्टी एकताको मूल ध्यये राष्ट्रियता, सुशासन, समृद्धि र नेपालवाद रहेको बताए । नेपाल सुशासन पार्टी र नेपाल आमा पार्टीले एक ठाउँमा उभिने निर्णय गरिसकेको र निकट भविष्यमै पार्टी एकीकरण हुने उनले बताए ।
नेपालवादले प्रकृतिसँगै जात, जाति, भाषा, संस्कृति संरक्षणको कुरासमेत गर्ने उनको दाबी छ । रेमिट्यन्सको भरमामात्रै अबको नेपाल चल्न नसक्ने र देश समृद्ध नहुने उनको भनाई छ ।
हिजोका राजनीतिक दलबाट धेरै आशा नगरेको बताउँदै उनले नयाँ भनिएका दलहरुपनि पुरानै दलको शैलीमा अगाडि बढेको उनले आरोप लगाए । ग्रेटर नेपालको नक्सा नेपालको संसद्, बालुवाटार र सबै सरकारी कार्यालयहरुमा राख्न आवश्यक रहेको उनले बताए । यस विषयमा आफूहरुले सडकबाट निरन्तर दवाब दिइरहने उनको भनाई छ ।



