images
images

१३ प्रतिशत भ्याट लगाउँदा एक तिहाईले भाउ बढ्छ : आलुप्याज व्यवसायी 


  • 341
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    १३ प्रतिशत भ्याट लगाउँदा एक तिहाईले भाउ बढ्छ : आलुप्याज व्यवसायी 

    काठमाडौं । नेपाल कृषिउपज आलु प्याज आयात निर्यात तथा थोक बिक्रेता संघले आलु र प्याजमा भ्याट लगाउने सरकारको कदम अनुचित, अव्यहारिक, अनावश्यक, अन्यायपूर्ण तथा महंगीलाई मलजल गर्ने किसिमको भएको बताएका छन् । उनीहरुले आलु र प्याजमा भ्याट लगाउँदै अर्थमन्त्री प्रकाशशरण महतले आत्मघाती कदम कदम चालेको आरोप लगाएका हुन् ।

    सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेपाल कृषिउपज आलु प्याज आयात निर्यात थोक विक्रेता संघले आलुप्याजमा १३ प्रतिशत भ्याट लगाउँदा यस्ता वस्तु एक तिहाईका दरले महंगिने भएकाले यो निर्णयबाट व्यवसायी हतोस्साहित र उपभोक्ता चिन्तित रहेको बताए । 

    बजेट र आर्थिक विधेयक २०८० ले व्यवसायमा परेको असरबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष मोहन बानियाँले आयातको तथ्याङ्क हेरेर भ्याट लगाउने निर्णय गरेर सरकार उल्टो बाटो हिँडेको बताए । अर्थमन्त्री महतको घोषणा मुलुक, उपभोक्ता र सयौं व्यवसायीको विरुद्धमा रहेको भन्दै बानियाँले भने, “यस्तो व्यवस्थाले व्यवसायीले आलु प्याज आयात गर्न नसक्ने,उपभोक्ताले बजारमा खरिद गर्न नसक्ने अवस्था सृजना भएको छ ।” अध्यक्ष बानियाँका अनुसार यसको सोझो असर उपभोक्ता, यसका कारोबारमा संलग्न व्यवसायी र अन्तमा हरेक नेपाली भान्सासम्मै पर्ने निश्चित छ ।

    सरकारको नीतिपछि व्यवसाय बचाउन आफूहरु हारगुहार गरिरहेको भन्दै उनले भन्सार नाकाका आएको वस्तु भन्सार पास गर्न पनि नसकेको बताए ।

    आलु र प्याज जस्तो नाशवान वस्तुमा अध्ययन बिनै भ्याट लगाइँदा व्यवसायी पलायन हुने र यसले अनौपचारिक व्यवसाय गर्नेलाई प्रोत्साहन मिल्ने बानियाँको दाबी छ । कर लगाउँदा व्यवसायमा के असर पर्दछ भनी अध्ययन नगरी हचुवाको निर्णय लिँदा वषौंदेखि व्यवसाय गरिरहेकाहरु व्यवसाय गर्न नसक्ने अवस्थामा पुगेको बानियाँको तर्क छ । अध्यक्ष बानियाँ भ्याटको निर्णयबाट पछाडि फर्कन पनि अर्थमन्त्रीलाई आग्रह पनि गरे । 


    सरकारले आर्थिक विधेयक २०८० मार्फत आलु प्याज लगायतका कृषि उपजमा मूल्य अभिबृद्धि कर (भ्याट) छुट दिने व्यवस्था हटाएसँगै आलु प्याजको व्यवसाय गर्नेहरु भ्याटको दायरामा आएका छन् । चालु आवको वैशाखसम्म नेपालमा ६ अर्ब ९८ करोडको आलु आयात भएको छ । यसबाट राज्यले ७१ करोड ७४ लाख रुपैयाँ राजस्व आम्दानी गरेको छ । यस्तै ५ अर्ब ७० करोडको प्याज आयात हुँदा ५७ करोड रुपैयाँ राजस्व उठेको छ । आलु प्याजमा भ्याट लाग्ने भएपछि व्यवसायीहरु बजेट वक्तव्ययता कारोबार नै नगरी बसेका छन् । यस्तो अवस्थामा फाइदा उठाउने समूह पनि सक्रिया रहेको पाइएको छ ।

    मूल्य अभिवृद्धि कर ऐन, २०५२ को अनुसुची १ को समूह क (आधारभूत कृषि उत्पादनहरु) अन्तर्गत मूल्य अभिवृद्धि कर (भ्याट) छुट हुने वस्तु तथा सेवाहरुको सूचीमा आलु तथा प्याज रहँदै आएकामा आर्थिक ऐन, २०८० बाट ऐन संशोधन गर्दै भ्याट छुट दिइएको वस्तुको सूचीबाट आलु र प्याज हटाइएको हो । 

    नेपाल कृषि उपज आलु प्याज आयात निर्यात तथा थोक विक्रेता संघ आलु र प्याजको व्यवसाय गर्ने व्यवसायीहरुको संघ हो । संघका सदस्यहरुले भारत र तेस्रो मुलुकबाट आलु प्याज आयात गरि नेपालमा थोक विक्री वितरण गर्दै आएका छन् ।


    images
    images

    Logo