images
images

औषधिमा आत्मनिर्भर बनाउने मन्त्री बस्नेतको घोषणा


  • 310
    SHARES
  • २०८० जेठ २९ गते सोमबार

    औषधिमा आत्मनिर्भर बनाउने मन्त्री बस्नेतको घोषणा

    काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले मुलुकलाई औषधिमा आत्मनिर्भर बनाउनुपर्नेमा जोड दिएका छन् । 

    स्वास्थ्य पत्रकार मञ्च नेपालले आज यहाँ आयोजना गरेको ‘नेपाली औषधिको विकास र चुनौती’ विषयक कार्यक्रममा उनले औषधि उद्योग आत्मनिर्भर बनाउनका लागि  सरकारले नेपाली औषधि उद्योगलाई प्रोत्साहन गर्ने बताए । 

    उनले नेपाली औषधि उद्योगलाई आत्मनिर्भरसँगै गुणस्तरीय बनाउनुपर्ने भन्दै सरकारले नेपाली औषधि उद्योगलाई सधैँ संरक्षण गर्ने प्रतिबद्धता व्यक्त गरे । मन्त्री बस्नेतले उद्योग सञ्चालनमा कुनै नीतिगत रूपमा समस्या भए त्यसको समाधानका लागि आफू तयार रहेको  बताए । उनले औषधि उद्योगलाई नियमन र संरक्षण गर्दै जानुपर्ने बताए । 

    औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकालले नेपाली औषधि उद्योगलाई प्रवर्द्धन गर्न भएका ऐन तथा नियमावली कार्यान्वयन गर्नुपर्ने बताए । उनले सरकारले तय गरेका नेपाली औषधि प्रवर्द्धनका सबै नीतिनियमहरू कार्यान्वयन गर्न नसकिएको भन्दै सरकार सधैँ नेपाली औषधि उद्योगीको पक्षमा रहेको बताए । 

    कार्यक्रममा औषधि उत्पादक सङ्घका अध्यक्ष प्रज्वलजङ्ग पाण्डेले नेपालमा उत्पादन भएका औषधि गुणस्तरीय रहेको भनाइ राखे । उनले सरकारले सहयोग गरेको खण्डमा नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन सकिने बताउनुभयो । विदेशबाट आएका औषधिलाई मात्र विश्वास गर्ने नेपाली प्रवृत्तिले नेपाली औषधि उद्योग फस्टाउन नसकेको उनको भनाइ थियो । 

    कार्यक्रममा औषधि उत्पादक सङ्घका पूर्वअध्यक्ष दीपकप्रसाद दाहालले नेपाली औषधि उद्योग समस्यामा रहेको भन्दै नेपाललाई औषधिमा आत्मनिर्भर बनाउन नेपालमै उत्पादन भएका औषधि प्रयोग गर्नुपर्ने बताए । मञ्चका अध्यक्ष सरोज ढुङ्गेलले औषधि उद्योगले भोगिरहेका समस्याबारे सरकार गम्भीर हुनुपर्ने बताए । 


    images
    images

    Logo