भक्तपुर । भक्तपुरमा जारी राष्ट्रब्यापी खुल्ला पुरुष भलिबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएको छ । सूर्यविनायक नगरपालिका–४ हर्सचौकमा आयोजित प्रतियोगितामा न्युटन एकेडेमी, ॐ श्रृजनसिल समाज, लिखु टिम र गणतान्त्रिक खेलकुद महासंघले सेमिफाइनलमा स्थान बनाएका हुन ।
आइतबार सम्पन्न क्वाटरफाइनलमा आयोजक ॐ श्रृजनसिल समाजले गान्धी आदर्श टिमलाई २५–१९ र २५–१६ को सोझो सेटमा पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । त्यसैगरी न्युटन एकेडेमीले कागेश्वरी मनोहरालाई २५–१६ र २५–१८ को सोझो सेटमा पराजित गरि सेमिफाइनलमा स्थान बनाएको छ । त्यस्तै गणतान्त्रिक खेलकुद महासंघ भक्तपुर जिल्ला खेलकुद बिकास समिति टिमलाई २५–१० र २५–२१ ले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।

त्यसैगरी लिखु–८ ले लिखु सेवा समाजलाई २५–२३ र २६–२४ ले पछि पार्दै सेमिफाइनलमा पुगेको छ । प्रतियोगिता आयोजक समितिका संयोजक पेशल आचार्यका अनुसार शनिबारदेखि शुरू भएको प्रतियोगितामा ८ जिल्लाका १० टिमको सहभागिता रहेको छ ।
सोमवारसम्म चल्ने प्रतियोगिताको उद्घाटन सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले गरेका थिए । ॐ सृजनशील समाजले आयोजना गरेको प्रतियोगितामा प्रथम हुनेलाई ५० हजार, दोस्रो हुनेलाई २५ हजार, तेस्रो हुनेलाई १५ हजार र सान्त्वना हुनेलाई १० हजार पुरस्कारको बव्यवस्था गरिएको आयोजक संस्थाका अध्यक्ष अर्जुन केसीले बताए ।



