काठमाडौं । ललितपुरको बाँडेगाउँमा शुक्रबार गरिएको चेकिङका क्रममा लागूपदार्थ सेवन गरी मोटरसाइकल चलाउने ५ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ ।
नियन्त्रणमा आउनेहरूमा ललितपुरको हात्तीवन बस्ने २२ वर्षीय अङ्कित महत, शंखमुल बस्ने २० वर्षीय अनिल बस्नेत, ललितपुरका २३ वर्षीय अमित कार्की, ललितपुरको बाँडेगाउँ बस्ने १८ वर्षीय एलिस महर्जन र चाबहिल बस्ने २७ वर्षीय सुमन खड्का रहेका छन् ।
नियन्त्रणमा आएका सबैलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागी प्रहरी वृत्त सातदोबाटो पठाइएको छ । नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, ट्राफिक प्रहरी परिसर सातदोबाटो, लागुऔषध नियन्त्रण ब्युरो र प्रहरी प्रभाग बाँडेगाउँबाट खटिएका संयुक्त टोलिले हिजो ललितपुरको बाँडेगाउँमा सवारी साधनलाई चेक गरेको थियो ।
लागूपदार्थ सेवन गरी सवारी साधन चलाउनु आफैँमा निन्दनीय कार्य भएको र यसरी सवारी साधन चलाउँदा चालकको मात्र नभई यात्रुहरूको जीवन समेत जोखिममा पर्ने भएकाले कारबाही अभियानलाई तीव्रता दिएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।
भाडाका सवारी साधन चलाउने चालकहरूले समेत लागूपदार्थ सेवन गरी सवारी साधन चलाएको पाइएकाले आफू सवार सवारी साधनका चालकले लागूपदार्थ तथा मादक पदार्थ सेवन गरेको शङ्का लागेमा यात्रुले तत्काल नजिकैको प्रहरी कार्यालय , ट्राफिक कन्ट्रोल रुमको हटलाइन नम्बर १०३ र प्रहरीको हटलाइन नम्बर १०० मा खबर गर्नुहुन अनुरोध गरिएको छ ।



