काठमाडौं । फेसबुक पेज बनाइ घरजग्गा किन्न ऋण दिन्छु भनी ठगी गर्ने तीनजना व्यक्तिहरु पक्राउ परेका छन् । ‘घर जग्गा (लोन सेवा)’ नामको पेज बनाएर ठगी गरेको अभियोगमा प्रहरीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका ११ घर भइ हाल कामनपा ३, बसुन्धरा बस्ने नकुल चालिसे, आकाश भट्टराई र आर.एन. क्षेत्री नामले चिनिने रामचन्द्र चालिसलाई पक्राउ गरेको हो ।
२०७९ फागुन ४ गते फेसबुक पेज बनाएर उनीहरुले ऋण चाहिए हामीलाई सम्पर्क गर्नुहोस् भन्दै ऋण दिने प्रलोभनमा ५७ लाख २० हजार रुपैयाँ चेक र नगद ठगेको प्रहरीले जनाएको छ । उक्त रकम अर्कैको नामको नागरिकता दुरुपयोग गरि विभिन्न बैंकहरुमा खाता खोजेर जम्मा गरेका प्रहरीले जनाएको छ । सोही कारण उनीहरुविरुद्ध ठगी तथा बैंकिङ कसुर मुद्दामा अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर टेकुका सूचना अधिकारी, प्रहरी उपरीक्षक सिताराम रिजालले जनाएका छन् ।
साथै, अभियुक्तहरुबाट अन्य वयक्तिहरुपनि पीडित भएको भए जिल्ला प्रहरी परिसर काठमाडौंमा सम्पर्क गर्न अनुरोध गरिएको छ ।



