काठमाडौं । सेप्टेम्बर २०/२१ मा नेपालमा आयोजना हुन गइरहेको एशियाली चुनावी स्टेकहोल्डर फोरम (एईएसएफ) को छैठौं सम्मेलनको लागि तयारी सुरु भएको छ ।
शुक्रबार निर्वाचन आयोगका पदाधिकारीहरुले प्रधानमन्त्री प्रचण्डसँग भेट गरि एईएसएफ सम्मेलन र दक्षिण एशियाको निर्वाचन व्यवस्थापन निकायहरूको फोरमको १२औं वैठक नेपालमा आयोजना गर्नेबारे छलफल गरेका हुन् । ती कार्यक्रमका लागि आवस्यक स्रोतको व्यवस्था गरिदिन समेत आयोगले सरकारसमक्ष अनुरोध गरेको छ ।
कार्यक्रममा आर्थिक वर्ष २०८०/८१ को बजेट वक्तव्यको अनुसूची मार्फत् जिल्ला निर्वाचन कार्यालयको विषयमा गरिएको व्यवस्था, निर्वाचन ब्यवस्थापन सम्बन्धी विधेयक नेपाल सरकार मार्फत संसदमा पेश गर्ने बारे, स्थानीय तह मार्फत मतदाता नामावली संकलन प्रारम्भ गर्ने, विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली संकलन गर्ने आदि विषयमा समेत छलफल भएको थियो ।
कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अर्थमन्त्री डा. प्रकाशशरण महत, सञ्चार तथा सूचना प्रविधि मन्त्री एवं सरकारका प्रवक्ता रेखा शर्मा, निर्वाचन आयोगका आयुक्तहरू, नेपाल सरकारका मुख्य सचिव र आयोगका सचिव समेतको उपस्थिति रहेको थियो ।



