काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि सबै सामुदायिक विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको छ । काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा स्वास्थ्य प्रवर्द्धन केन्द्र सञ्चालन गर्ने र सोही केन्द्रमार्फत आगामी वर्षदेखि ८९ वटै सामुदायिक विद्यालयमा नै नर्सिङ सेवा उपलब्ध गराउने तयारी गरेको हो ।
काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाका अनुसार धेरै विद्यार्थी सङ्ख्या रहेको विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रम सञ्चालन गर्ने र विद्यार्थी सङ्ख्या कम भएको सामुदायिक विद्यालयमा वडामार्फत उक्त सेवा प्रदान गर्ने काठमाडौं महानगरपालिकाको तयारी छ ।
अहिले काठमाडौं महानगरपालिका लगायत देशको सबै स्थानीय तहहरू नीति तथा कार्यक्रम बनाउने तयारीमा जुटेका छन् । काठमाडौं महानगरपालिकाले आफ्नो नीति तथा कार्यक्रमा नै उक्त विषय समेटेर आगामी आर्थिक बर्षदेखि कार्यान्वयन गरिने शिक्षा विभागका प्रमुख कोइरालाले जानकारी दिए ।
वडामा सञ्चालन गरिने स्वास्थ्य प्रवर्द्धन केन्द्रमार्फत प्रत्येक विद्यालयमा हप्तामा दुई दिन नर्सिङ सेवा दिने गरी तयारी भएको छ । कम्तीमा दुई दिन विद्यार्थीको स्वास्थ्य परीक्षण गराउने र तत्काल गर्नुपर्ने केही समस्या पर्दा केन्द्रमार्फत काठमाडौं महानगरपालिकाले खटाएका नर्सले सेवा दिनेछन् ।
एक विद्यालय एक नर्स कार्यक्रम प्रदेशको कार्यक्रम हो । अहिले उक्त कार्यक्रम कामपाको आठवटा विद्यालयमा मात्र सञ्चालन हुँदै आएको छ । यसलाई बढाएर काठमाडौं महानगरपालिकाले सबै विद्यालयमा नर्सिङ सेवा उपलब्ध गराउने भएको हो ।
उक्त कार्यत्रमसँगै काठमाडौं महानगरपालिकाले आगामी आवदेखि मनोवैज्ञानिक परामर्श सेवा पनि उपलब्ध गराउने तयारी गरेको छ । त्यसैगरी प्रविधि र विशेष शिक्षामा गत वर्षको भन्दा यस वर्ष लगानी बढाउने अभ्यास भइरहेको कामपा शिक्षा सल्लाहकार रेशु अर्यालले जानकारी दिए ।
शिक्षाको गुणस्तर बढाउनु नै काठमाडौं महानगरपालिकाको लक्ष्य रहेकाले यसै शैक्षिकसत्रदेखि सुरु गरेको शिक्षामा सीप कार्यक्रमलाई पनि थप विस्तार गरिने भएको छ । अहिले माध्यमिक तह कक्षा ९ देखि १२ सम्ममात्र सञ्चालन भइरहेको उक्त कार्यक्रम तलका कक्षामा पनि लगिने छ ।
काठमाडौं महानगरपालिकामा रहेका ८९ सामुदायिक विद्यालयमध्ये ५९ माध्यमिक र ३० प्राथमिक विद्यालय छन् । उनान्साठी माविमध्ये ५६ वटामा मात्र शिक्षामा सीप कार्यक्रम लागू भएको छ ।



