काठमाडौं । उदयपुर सिमेन्टका महानिर्देशक गोपीकृष्ण न्यौपानेले राजीनामा दिएका छन् । उनले मंगलबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाललाई राजीनामा बुझाएका हुन् ।
उद्योग आर्थिक संकटमा फसेपछि ऋण तिर्न पैसा मागिएकोमा सरकारले दिन नसकेपछि राजीनामा दिएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा कम्तीमा २५र३० करोड माग गरिएकोमा मन्त्रालयले पैसा नभए जवाफ दिएको थियो ।
नियमित उत्पादन गर्न नसकेको उदयपुर सिमेन्टलाई २ वर्षमै १ अर्ब बढीको आर्थिक भार थपिएको छ । उदयपुर सिमेन्टलाई उद्योगका अवकाश प्राप्त कर्मचारीको सुविधा, विद्युत् महशुल, सरकारी अन्तस्शुल्क, कर्मचारी र सामान सप्लायर्सको टीडीएस, कोइला खरिदको भुक्तानी लगायत शिर्षकमा एक अर्ब ९ करोड बढी दायित्व भार परेको छ ।