काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप लगायतका आफ्ना महत्वपूर्ण मागहरू सम्बोधन नगरेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको ध्यानाकर्षण गराएको छ ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) नेतृत्वको प्रतिनिधिमण्डलले मंगलबार मन्त्री ज्वालालाई भेटी महासंघका मागहरूका विषयमा ध्यानाकर्षण गराएको हो ।
महासंघका वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा (ए.डी) ले माइलस्टोनको खारेजी सहित म्याद थप, भुक्तानी, मूल्य समायोजन लगायतका व्यवसायीहरूको अत्यन्त महत्वपूर्ण मागहरू बारे बजेटमा केही सम्बोधन नभएकाले व्यवसायीहरू ठूलो मारमा परेको बताए ।
मूल्य समायोजन सहित एकमुष्ट रुपमा २०८१ असार मसान्त सम्म सबै आयोजनाहरूको म्याद थप हुनुपर्ने उनले बताए । व्यवसायीहरूको रकमको भुक्तानी भएमा अर्थतन्त्र चलायमान भई त्यसको सकारात्मक प्रभाव राज्यको अर्थतन्त्रमै देखिने उनले बताए ।
विदेशी निर्माण व्यवसायीहरूको तुलनामा स्वदेशी व्यवसायीहरूले राम्रो काम गरेको दाबी पनि उनले गरे । महासंघका मानार्थ सदस्यहरू पूर्णबहादुर तामाङ ‘कान्छाराम’, गेल्जे लामा, सल्लाहकारहरू यक्षध्वज कार्की, जयराम लामिछाने लगायतले मुलुकको निर्माण उद्योगलाई बचाउने हो भने राज्यले नै अहिलेको विषम परिस्थितिलाई सहज बनाउन पहलकदमी लिनुपर्ने धारणा राखे ।
जवाफमा मन्त्री ज्वालाले म्याद थप र भुक्तानीका विषयमा आफू सकारात्मक रहेको बताउँदै व्यवसायीहरूको समस्या समाधानमा सक्दो पहल गर्ने प्रतिबद्धता जनाए । मन्त्रालयका सचिव इन्जिनियर केशव कुमार शर्माले पनि व्यवसायीहरूका माग प्रति मन्त्रालय सकारात्मक रहेको जानकारी दिए ।
महासंघ प्रतिनिधिमण्डलमा महासंघका उपाध्यक्षहरू रामजी पन्त ‘मुकेश’, बालकृष्ण थापा, नीतिगत उपमहासचिव शिवहरि घिमिरे, कार्य समिति सदस्य दानबहादुर खड्का, महासंघका कार्यालय प्रमुख प्रेमसिंह ऐर लगायत रहेका थिए । महासंघले आफ्ना मागहरूका विषयमा अन्य मन्त्रीहरूलाई पनि अवगत गराउने महासंघका प्रवक्ता समेत रहनु भएका नीतिगत उपमहासचिव शिवहरि घिमिरेले जानकारी दिए ।



