काठमाडौं । नेपाली कांग्रेसनिकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) काठमाडौं क्षेत्र नं–४ प्रदेश ‘ख’ का युवा परिचालन संयोजक विजेन केसीले बुढानीलकण्ठ स्कूलमा विद्यार्थी भर्नामा चलखेल र आर्थिक अनियममितता भएको आरोप लगाएका छन् ।
सोमबार पत्रकार सम्मेलनमार्फत उनले बुढानीलकण्ठ स्कुलमा भएको आर्थिक अनियमितताका बारेमा जानकारी गराएका हुन् । विद्यार्थी भर्नाका क्रममा नाम निकालेको विद्यार्थीलाई भर्ना नलिएर आर्थिक प्रलोभन, पावर र पैसाको आधारमा अरू विद्यार्थीलाई भर्ना गरिएको केसीको आरोप छ । उक्त विद्यालयमा विभिन्न तरिकाले चलखेल भएको, आर्थिक घोटला भएको र विद्यार्थीको जीवन जोखिममा पारेका लगायतका प्रमाणहरु आफूसँग रहेको उनको दाबी छ ।
विद्यालयको अनियमितताबारे निश्पक्ष छानविन गरेर दोषीलाई कानुनको दायरामा ल्याउन उनले सरोकारवाला निकायको ध्यानाकार्षण गराएका छन् । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग र शिक्षा मन्त्रालयमासमेत उजुरी परिसकेको उनले जानकारी गराए ।
विगत पाँच वर्षदेखि बुढानीलकण्ठ स्कुलमा भइरहेको भ्रष्टाचार र अनियमितताको प्रमाण आफूसँग सुरक्षित रहेको पनि उनको दाबी छ । उक्त विषयलाई थाती राख्न आफूलाई बुढानीलकण्ठ स्कुलका प्रधानाध्यापक होम आचार्यका भाई राष्ट्रपति कार्यालयमा कार्यरत खगेन्द्र आचार्यबाट दवाब आएको पनि बताए । आफूहरु एउटै पार्टीका भएकाले यस विषयलाई थाँती राख्न र आवश्यक समन्वयका लागि खगेन्द्रले अनुरोध गरेको केसीले खुलाए । आफू उनीहरुको प्रलोभनमा नपरी विद्यार्थीको हकहित र भ्रष्टाचारको अन्त्यका लागि निरन्तर लागिरहेको समेत उनले बताए ।
बुढानीलकण्ठ स्कुलका विषयमा सरोकारवाला निकायको ध्यानाकार्षण भएर निष्पक्ष छानविन गरी दोषीलाई कारबाही हुनुपर्ने र पीडित विद्यार्थीहरुले न्याय पाउनु पर्ने उनको माग छ ।



