काठमाडौं । विभिन्न राजनीतिक दल र संघ/संस्थाहरुले २०४७ सालको संविधान व्युँताउनका लागि सत्याग्रहको तयारी गर्ने गर्ने भएका छन् । लोकतन्त्र र गणतन्त्र देशका लागि अफाप सिद्ध भएको भन्दै उनीहरुले २०४७ सालको संविधान स्थापना, संवैधानिक राजसंस्था र धार्मिक स्वतन्त्रता सहितको हिन्दु राज्यको माग गर्दै सत्याग्रहको आयोजना गरेका हुन् । सत्याग्रह संयोजक समितिले आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी आगामी जेठ २३ गतेदेखि माईतीघर मण्डलामा आन्दोलनको सुरूवात गरिने जानकारी गराएको हो ।
‘सरकारमा रहेका पदाधिकारीहरु इन्डिया जाने होडबाजी चलेको छ । गणतन्त्र र लोकतन्त्र हाम्रो देशका लागि अफापसिद्ध भएको छ । २०४७ सालको संविधानका लागि हामी यथाशिघ्र सत्याग्रह गर्ने भन्ने हामीले तयारी गरेका छौं,’– कार्यक्रम सञ्चालक नरेशमान सिंहले भने । उने उक्त सत्याग्रहमा सहभागी हुनका लागि संघ÷संस्थाहरुले आफ्नो व्यानरसहित कार्यक्रममा सहभागी हुनसक्ने समेत जानकारी गराए ।
सत्याग्रह अभियानका संस्थापक अध्यक्ष किशोरी महतोले अबको सत्याग्रह जनताले राजा गुहार्नका लागि भएको बताए । आफूहरु आन्दोलनको नाममा कुनै नेपालीको रगत नबगोस् भन्ने कुरामा सचेत रहेकाले सत्याग्रह सुरु गर्ने निर्णय गरेको उनले बताए ।
अधिवक्तासमेत रहेका अभियन्ता हरिबोल भट्टराईले देशलाई भ्रष्टाचारको अजिंगरले निल्नै लागेको टिप्पणी गरे । नेपाली नागरिकलाई भुटानी बनाएर पैसा आर्जन गर्ने र जनताको स्वतन्त्र मताधिकारको खिल्ली उडाउने कामले अहिलेको संविधानको औचित्यमाथि प्रश्न उठाइसकेको उनको भनाई छ ।
पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै स्वतन्त्र नागरिक समाजका संयोजक रामकुमार रिजालले २०४७ सालको संविधान, राजसंस्था र संवैधानिक राजतन्त्रको मागसहित आफूहरु सत्याग्रहमा होमिन लागेको बताए ।
कार्यक्रमका अर्का वक्ता सोमविक्रम सिंहले तीन करोड नेपालीमा राष्ट्रियता सीमित व्यक्तिमा मात्रै बिझेको टिप्पणी गरे । जनताले राष्ट्रियताको पक्षमा मनन् नगरेसम्म यो आन्दोलन जित्न नसकिने उनले बताए । राष्ट्र र राष्ट्रियताको रक्षाका लागि जनता सडकमा उतार्नुको विकल्प नरहेको उनको भनाई छ ।
अर्का वक्ता कपिलमान खड्गीले सत्याग्रहमा समर्थन जनाउँदै सबै शक्ति एक ठाउँमा आएको खण्डमा २०४७ सालको संविधान व्युँतिनलाई समय नलाग्ने बताए । सबै राष्ट्रवादी शक्तिहरु सशक्त भएर संयुक्त आन्दोलन गरेको खण्डमा २०४७ सालको संविधानको विकल्प नहुने उनको भनाई छ ।
संयुक्त राष्ट्रिय जनआन्दोलन मोर्चाका अध्यक्ष शेखरजंग रायमाझीले २०४७ सालको संविधानको माग गर्दै सत्याग्रह अगाडि बढ्नु सकारात्मक हुने बताए । २०७२ सालको नेपालको संविधान नेपालको स्वार्थमा नरहेको उनको आरोप छ ।
२०७२ सालको नेपालको स्वार्थमा नभएको संविधान पनि राष्ट्रपति रामचन्द्र पौडेलले विदेशीको स्वार्थ पुरा गर्नका लागि नागरिकता विधेयक ल्याएर च्यातचुत पारेको आरोप लगाए । राष्ट्रपतिले प्रमाणीकरण गरेको विधेयकलाई अहिलेको ताजा जनादेशबाट बनेको संसद्ले नचिन्ने उनको दाबी छ ।
सत्याग्रह अभियानका राजनीतिक संयोजक अनिल योगीले २०४७ सालको संविधानको पक्षमा उभिनु राष्ट्रिय स्वाधीनताको विषय भएको बताए । शासक ठीक भएन भने सुनकै अक्षरले लेखेको संविधान भएपनि त्यसले काम नगर्ने उनको भनाई छ ।
सत्याग्रह द्ुई÷चार जना मानिसले मात्रै गरेर नहुने उनले बताए । उनले सामाजिक सञ्जालनमा गाली गरेरमात्रै राजतन्त्र र २०४७ सालको संविधान प्राप्त गर्न नसकिने बताए ।
२०४७ सालको संविधान सत्य भएको उनको दाबी छ । ०७२ सालको संविधान असत्य भएको उनले आरोप लगाए । २०७२ को संविधानले देशमा विकृति, विसंगति ल्याएर नेपाली जनतालाई विदेशीको गुलाम बनाएको बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका क्रममा उन्नत जातको मुर्रा राँगा उपहार दिनुले नेपालीलाई लज्जाबोध गराएको उनले बताए । यस्ता क्रियाकलापबाट नेपालीलाई होच्याउने काम भइरहेको उनको दाबी छ ।
नेपाली कांग्रेस (विपी) का नेता सुशिलमान शेरचनले २०४७ सालको संविधान व्युँताउनका लागि अहिले सही समय भएको बताए । विपी कांग्रेसको नीति पनि संवैधानिक राजसंस्था, धार्मिक स्वतन्त्रताहितको हिन्दु राष्ट्र भएको उनले बताए ।
मिसन नेपालका संस्थापक केपी शर्मा पन्तले नेपालको पवित्र भूमिलाई बचाउन, धर्म, संस्कृति, इतिहास र पहिचानलाई विश्वमाँझ चिनाउनका लागि यो सत्याग्रहमा समर्थन गरेको बताए । आफ्नो योग्यता र क्षमताले भ्याएसम्म यस अभियानमा सहभागी हुन उनले आह्वान गरे ।



