images
images

मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो, कस्को कति पुग्यो ?


  • 416
    SHARES
  • २०८० जेठ २० गते शनिबार

    मदिरा उत्पादकदेखि बिक्रेतासम्मको लाइसेन्स र नवीकरण दस्तुर बढ्यो, कस्को कति पुग्यो ?

    काठमाडौं । सरकारले आर्थिक विधेयक, २०८० मार्फत मदिरा र सूर्तीजन्य वस्तुको उत्पादक, वितरक तथा बिक्रेताको इजाजतपत्र (लाइसेन्स) र नवीकरण दस्तुर बढाएको छ ।

    आर्थिक विधेयकमार्फत अन्तःशुल्क नियमावली, २०७९ मा भएको संशोधन तथा परिमार्जनबारे आन्तरिक राजस्व विभागले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार स्प्रिट, बियर, इथानोल र अन्य मरिदा उत्पादन गर्ने प्रतिष्ठानको लाइसेन्स र नवीकरण दस्तुर  ५५ हजारले बढेको हो । यसअघि यस्तो शुल्क  एक लाख ९५ हजार बराबर रहेकामा त्यसलाई बढाएर दुई लाख ५० हजार पुर्‍याइएको छ ।
        
    वाइन, ब्रान्डीजस्ता फलफूलमा आधारित मदिरा बनाउने प्रतिष्ठानको लाइसेन्स र नवीकरण शुल्क चार हजारले बढाएर एक लाख पुर्‍याइएको छ । चुरोट उत्पादन गर्ने प्रतिष्ठानलाई दुई लाख ४० हजार इजाजत तथा नवीकरण दस्तुर लाग्दै आएकामा त्यस्तो शुल्क  तीन लाख पुगेको छ ।

    मदिरा बिक्रीवितरणका लागि होटल, रेस्टुराँ, रिसोर्ट, बारले लिने इजाजत तथा नवीकरण दस्तुर पनि बढेको छ । यस्तो शुल्क यसअघि पाँच तारे होटललाई  ६० हजार रहेकामा ७५ हजार, चारतारे होटललाई  ४८ हजार रहेकोमा ६० हजार र तीन तारे होटललाई  ३६ हजार रहेकामा ४५ हजार बनाइएको छ । दुई तारेलाई २४ हजार रहेकामा ३० हजार र एक तारेलाई १२ हजार रहेकामा  १५ हजार पुर्‍याइएको छ ।

     स्वदेशी तथा विदेशी मदिरा बेच्ने पर्यटकस्तरको रेस्टुरेन्ट, रिसोर्ट तथा पार्टी प्यालेसले इजाजत तथा नवीकरणका लागि आठ हजार पाँच सय तिर्दै आएका थिए । अहिले त्यो बढेर ११ हजार पुगेको छ । साधारण होटल, रेस्टुरेन्ट, बार तथा लजका लागि रू चार हजार पाँच सय बराबर शुल्क रहेकामा छ हजार पुर्‍याइएको छ ।

    मदिरा वितरकलाई यस्तो शूल्क ३६ हजार बराबर रहेकामा बढेर ४५ हजार पुगेको छ । त्यस्तै मदिराको थोक बिक्रेतालाई २४ हजार दस्तुर लाग्ने गरेकामा ३० हजार पुर्‍याइएको छ ।

    मदिरा बिक्री गर्ने खुद्रा बिक्रेताको इजाजत लिन तथा त्यस्तो इजाजत नवीकरण गर्दा लाग्ने शुल्क पनि बढेको छ । यस्तो इजाजत तथा नवीकरणका लागि  १२ हजार शुल्क लाग्ने गरेकामा अब १५ हजार शुल्क लाग्नेछ । त्यस्तै, डिपार्टमेन्टल स्टोरले २४ हजार शुल्क तिर्दै आएकामा ३० हजार तिर्नुपर्नेछ । विदेशी मदिरा तथा स्प्रिट आयातकर्ताको अनुमति लिन तथा त्यस्तो अनुमतिपत्रको नवीकरणका लागि  ४८ हजार शुल्क लाग्दै आएकोमा ६० हजार पुगेको छ ।
        
    विदेशी चुरोट तथा सिगार, सूर्तीजन्य पदार्थ आयातकर्तालाई रू ४८ हजार बराबर शुल्क लाग्दै आएको थियो । त्यसलाई बढाएर  ६० हजार तोकिएको छ । त्यस्तै, पान मसला, चुरोट, खैनी, जर्दा, नश, तथा सुर्तीजन्य वस्तुका थोक बिक्रेताको लाइसेन्स तथा नवीकरणका लागि  सात हजार दुई सय लाग्दै आएकामा अब  १२ हजार शूल्क लाग्नेछ । यस्ता वस्तुको खुद्रा बिक्रेताका लागि दुई हजार शुल्क लाग्दै आएकामा अब  तीन हजार लाग्नेछ । पान मसला, खैनी, जर्दा, नश, चुरोट बाहेकका सूर्तीजन्य वस्तु उत्पादन गर्ने प्रतिष्ठानका लागि एक लाख २० हजार लाग्दै आएकामा अब दुई लाख लाग्नेछ ।


    images
    images

    Logo