कैलाली । समुन्नत सुदुरपश्चिम प्रदेशका लागि साझा अठोट भन्ने मुल नाराका साथ सुदुरपश्चिम प्रदेश स्तरिय नीति संवाद तथा युवा महोत्सव यही मिति २०८० जेठ १४ देखि १५ सम्म आयोजना गरिएको छ ।
उक्त कार्यक्रममा युवा उद्य्मशिलता, सुरक्षित वैदेशिक रोजगारी, सीप तथा अवसर, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्ति, सार्वजनिक शिक्षामा लगानि बृद्धिको आवश्यकता, यौन तथा प्रजनन् स्वाथ्य बारे विज्ञहरुद्धारा अभिमुखीकरण भएको थियो ।
कार्यक्रममा युवाको क्षमता अभिबृद्धि र राष्ट्र निर्माणको मुल प्रवाहिकरणमा उनीहरुलाई समाहित गर्नुपर्ने माग राखेर सुदुर पश्चिम प्रदेशका ९ वटा नै जिल्लाबाट उपस्थित १३० युवाहरुको सक्रियतामा तयार भएको २१ बुँदे धनगढी घोषण पत्र जारी गरिएको छ ।
घोषणा पत्रमा युवाको संस्थागतरुपमा नै समग्र विकासका निमित्त उचित व्यवस्था गर्ने, यसका लागि प्रदेश युवा परिषद् तथा स्थानिय तहमा पालिका स्तरिय युवा परिषद्को गठन गर्न, प्रदेशका सिमान्तकृत समुदायमा मुस्लिम, मुक्त कमैया, मुक्त कम्लहरी तथा यौनिक तथा लैंगिक अल्पसंख्यक समुदायबाट प्रतिनिधित्व गर्ने युवा लक्षित गर्दै उच्च शिक्षा तथा प्राविधिक शिक्षाको निशुल्क व्यवस्था गरेर रोजगारीको सुनिश्चितता गर्ने, सार्वननिक शिक्षामा लगानी बृद्धि, गलत वा मिथ्या सूचना, दुष्प्रचार तथा घृणास्पद अभिव्यक्तिको सिकार रोक्न, बढ्दो आधुनिकिकरणसँगै युवामा बढेको कुलतको जोखिम न्युन गर्ने लगायतका माग गरिएको छ ।
उक्त घोषणा पत्र सुदुर पश्चिम प्रदेशका मुख्य मन्त्री कमल बहादुर शाहलाई युवालयका अध्यक्ष सन्तोष महर्जन, गैह्र सरकारी संस्था महासंघ नेपालका केन्द्रिय सदस्य किरण थापा तथा बालिका दुलहि हैननका अध्यक्ष निरीजना भट्टले संयुक्त रुपमा एक कार्यक्रमका बिच हस्तान्तरण गरेका थिए । घोषणा पत्र ग्रहण गर्दै मुख्यमन्त्री शाहले वास्तविकताका आधारमा युवावर्गलाई समेट्दै सन्देश दिने खालको रोजगारी सिर्जना गर्ने गरी नीति तथा कार्यक्रम र बजेट ल्याउने प्रतिबद्दता व्यक्त गरेका थिए ।
सुदुर पश्चित प्रदेशका सामाजिक विकास मन्त्री झपट बहादुर साउदको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रमको समापन सुदुर पश्चिम प्रदेशका उद्योग , पर्यटन तथा वातावरण मन्त्री रमेश सिंह धामीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
दुई दिवसिय उक्त नीति सम्वाद तथा युवा महोत्सव कार्यक्रममा राष्टिय युवा परिषद्सँगको सहकार्य तथा युरोपियन युनियन, अक्सफाम नेपाल, केयर नेपाल, एक्सन एड नेपाल, आरएचआरएन, वल्र्ड भिजन, गुड नेवर्स इन्टरनेश्नल लगायत अन्य गैह्र सरकारी संस्थाहरुको सहयोग रहेको थियो ।



