काठमाडौं । आन्तरिक राजश्व विभागले लगानीकर्ताको पुँजीगत लाभकरमा कुनै फेरवदल नभएको जनाएको छ । विभागले एक सुचना जारी गर्दै नियमित व्यवसायको रुपमा नभई पटेक रुपमा लगानी गरेका धितोपत्र विक्री गर्दा हुने लाभामा साविक बमोजिम कानुनी व्यवस्था रहेको जनाइएको हो ।
नेपाल इनभेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ नेपाल र नेपाल पूँँजीबजार लगानीकर्ता संघको संयुक्त प्रेस विज्ञप्ति समेत प्राप्त भएको विभागले जनाएको छ । ‘नियमित व्यवसायको रुपमा नभई पटके रुपमा लगानी गरेको धितोपत्र विक्री गर्दा हुने लाभमा साविक बमोजिमकै कानूनी व्यवस्था कायम रहेको छ,’ विभागले जारी गरेको विज्ञप्तिमा भनिएको छ,’ ।
‘त्यस्तो कारोबारबाट भएको लाभमा नियमानुसार दाखिला भएको ५ प्रतिशत वा ७.५ प्रतिशत पूँजीगत लाभ कर अन्तिम हुने कानूनी व्यवस्थामा कुनै परिवर्तन नभएको व्यहोरा सम्बन्धित लगानीकर्ता एवम् सर्वसाधारणको जानकारीको लागि यो सूचना जारी गरिएको छ ।’




