काठमाडौँ । चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिगको उपाधि जितेको छ । जितसंगै चेन्नईले २० करोड भारतीय रूपैयाँ पुरस्कार पाएको छ भने गुजरातले १३ करोडमा चित्त बुझाएको छ । सोमबारराती गुजरातको अहमदाबादमा सम्पन्न आईपीएल(२०२३ को फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले हराउँदै चेन्नई पाँचौँपल्ट च्याम्पियन बनेको हो । चेन्नईले यसअघि सन् २०१०, २०११, २०१८ र २०२१ मा आईपीएलको उपाधि जितेको थियो ।
टस हारेको गुजरातले चेन्नईलाई २१५ रनको विजयी लक्ष्य दिएको थियो । चेन्नईले ब्याटिङ थालेको पहिलो ओभरमै वर्षाले खेल रोकिएपछि डक वर्थ लुइस नियमअनुसार ओभर घटाउँदै चेन्नईलाई १५ ओभरमा १७१ रनको लक्ष्य दिइएको थियो ।
चेन्नईका लागि डेभोन कनवेले सर्वाधिक ४७ रन बनाए । २५ बल सामना गरेका उनले ४ चौका र २ छक्का प्रहार गरे । त्यस्तै शिवम दुवेले नटआउट रहँदै २१ बलमा २ छक्कासहित ३२ रन बनाए । चेन्नईलाई अन्तिम २ बलमा १० रन चाहिएको अवस्थामा रवीन्द्र जडेजाले छक्का र चौका प्रहार गर्दै जित दिलाएका थिए । उनले ६ बलमा १ छक्का र १ चौकासहित १५ रन बनाए ।
चेन्नईका ओपनर रुतुराज गायकवाडले १६ बलमा २६ रन बनाए । कप्तान धोनी भने पहिलो बलमै आउट भए । उनलाई मोहित शर्माले डेभिड मिलरको हातबाट क्याचआउट गराए ।
गुजरातका लागि मोहित शर्माले ३ र नूर अहमदले २ विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । गुजरातका लागि साई सुदर्शनले ९६ रन बनाए । त्यस्तै रिद्धिमान साहले साहले ३९ बलमा ५४ रन बनाए । कप्तान हार्दिक पाण्ड्याले नटआउट २१ रन बनाए । शुभमन गिलले २० बलमा ७ चौकासहित ३९ रन बनाए । उनले साहसँग पहिलो विकेटका लागि ६७ रनको साझेदारी गरे । चेन्नईका लागि मथीसा पथिरानाले २ तथा दीपक चहर र रवीन्द्र जडेजाले १र१ विकेट लिए ।



