भक्तपुर । सोह्रौँ गणतन्त्र दिवस देशभर विभिन्न औपचारिक कार्यक्रम गरी मनाइँदैछ । तर, भक्तपुरमा भने गणतन्त्र दिवस भिन्न तरिकाले मनाइएको छ । नेकपा एमाले सुर्यविनायक–८ वडा कमिटिको आयोजनामा डोलेश्वरदेखि आशापुरीसम्मकोे छ किलोमिटर सडक मर्मत र सडक सरसफाई गरेर गणतन्त्र दिवस मनाइएको हो ।
मेरो वडा म बनाउँछु, मेरो नगर हामी बनाउँछौं भन्ने व्यानरसहित सडक मर्मतका लागि ठुलो संख्यामा स्थानीयहरु सहभागि भएका थिए । बागमति प्रदेशका सांसद किरण थापाका अनुसार, बिहान सात वजेदेखि शुरु भएको कार्यक्रम चार घण्टा सम्म चलेको थियो । अभियान अन्तरगत डोलेश्वरदेखि आशापुरी जाने सडकको नाली सफाईका साथै सडकमा भएका खाल्डाखुल्डी पुरिएको सांसद थापाले बताए ।
पछिल्लो समय भएको वर्षाले सडकका सैयौं स्थानमा खाल्डाखुल्डी बनाएका कारण सर्वसाधारणलाई आवत जावतमा कठिनाई भएपछि गणतन्त्र दिवसलाई उपयोग गरेर जनताकै काममा लगाइएको सांसद थापाको भनाई छ । अभियानकै क्रममा करिव तीन लाख रुपैयाँ बरावरको काम गरिएको थापको भनाई छ । सांसद थापाका अनुसार, मर्मत र सरसफाई कार्यक्रममा करिव तीन सय बढीको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजा, लगायतका पार्टीका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । त्यसैगरी सोहि वडाका वडाध्यक्ष पुष्प बस्नेत, सुर्यविनायक–७ का वडाध्यक्ष तथा नगरपालिकाका प्रबक्ता रबिन्द्र सापकोटा लगायतका जनप्रतिनिधिको समेत सहभागिता रहेको थियो ।
प्रजातन्त्र आएको ३३ वर्ष तथा गणतन्त्र आएको १५ वर्ष बित्दा सर्वसाधारणले राजनीतिक अधिकार पाएपनि जनताको आर्थिक प्रगती र जनताको अपेक्षा पुरा हुन नसकेको समयमा रचनात्मक काम गरेर गणतन्त्र दिवस मनाउँने क्रममा सडक मर्मत र सरसफाई कार्यक्रमको आयोजना गरिएको नेकपा एमाले भक्तपुरका अध्यक्ष बचन देउजाले बताए ।



