काठमाडौं । आगामी आर्थिक वर्ष २०८०र८१ को बजेट आज प्रस्तुत हुंदैछ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आज अपराह्न संसदको संयुक्त बैठकमा बजेट प्रस्तुत गर्नेछन् ।
राजश्व संकलनमा कमि र विकास खर्च हुन नसकेको अवस्थामा यस बर्षको वजेटको आकार नबढ्ने आकलन गरिएको छ । वजेट मार्फत सरकारले आर्थिक सुधार गर्ने कार्यक्रमलाई प्राथमिकता दिने बताउँदै आएको छ ।
१७ खर्बभन्दा केही रकम बढ्ने गरेर अर्थ मन्त्रालयले बजेट ल्याउने तयारी भएको मन्त्रालय श्रोतको भनाइ छ । चालु आर्थिक वर्षको लागि १७ खर्ब ९३ अर्ब रुपैयाँको बजेट आएको थियो, जसलाई मध्यावधि समीक्षामार्फत घटाएर १५ खर्ब ४९ अर्ब खर्च हुने अनुमान गरिएको थियो । अर्थ मन्त्रालय स्रोतका अनुसार अर्थमन्त्री महतले बजेटमा आर्थिक सुधारसहित अनावश्यक बोझ भएका समितिहरु खारेज गर्ने घोषणा बजेटमार्फत गर्नेछन् ।
बजेटमा विगतमा जस्तो स्रोत सुनिश्चित नभएका परियोजनामा रकम विनियोजन नहुने र आर्थिक सुधारको कार्यक्रमलाई प्राथमिकता दिइने बताइएको छ । वजेटले आन्तरिक उत्पादन बढाउने र जनतालाई केही राहत महसुस हुने कार्यक्रमको घोषणा हुने आर्थ स्रोतको भनाइ छ ।
अर्थमन्त्री डा। महतले सार्वजनिक कार्यक्रममै बजेटमा नयाँ ठूला परियोजना समावेश नगर्ने बताउँदै आएका छन् । सांसद विकास कोष कार्यक्रम राख्न दवाव बढेपनि नराख्नेमा करिब सहमति देखिएको छ । चल्न नसकेका केही सार्वजनिक संस्थानको निजीकरण तथा मर्जरको घोषणा बजेटले गर्नेछ । मदिरालगायतका बिलासी बस्तुको आयातमा लाग्ने कर बढ्नेछ । विद्युतीय गाडीको कर बढ्ने सम्भावना रहेको स्रोतले बतायो ।
अहिले नै तलब दिन नसकिने अवस्था रहेको कारण कर्मचारीको सेवा सुविधा र सामाजिक सुरक्षा भत्ता नबढ्ने निश्चित छ । सामाजिक सुरक्षा भत्तालाई व्यवस्थित गर्ने र आर्थिक रुपले सक्षम वर्गलाई नलिएमा प्रोत्साहन दिने खालको योजना बजेटमा ल्याउने तयारी छ ।
मूल्यवृद्धिअनुसार कर लाग्ने सीमा आम्दानीमा बढाउनुपर्ने भए पनि लक्ष्यअनुसार कर नउठेको कारण यसलाई परिवर्तन नगर्न दवाव बढेको छ ।



