पानीमा खसेको स्मार्टफोन निकाल्न जलाशय खाली गराउने भारतीय अधिकारी निलम्बित भएका छन् । सेल्फी खिच्ने क्रममा पानीमा खसेको मोबाइल निकाल्न पुरै जलाशय सुकाउन आदेश दिएको आरोपमा उनलाई जागिरबाट निलम्बन गरिएको हो । फुड इन्स्पेक्टर राजेश विश्वासको मोबाइल फोन सेल्फी लिने क्रममा जलाशयमा खसेको थियो ।
मोबाइलमा ‘संवेदनशील डाटा’ भएको दावी गर्दै विश्वासले पहिला स्थानीय गोताखोरहरुलाई मोबाइल खोजिदिन अनुरोध गरेका थिए । तर उनीहरुले भेट्न नसकेपछि उनले डिजेल पम्प प्रयोग गरेर जलाशय खाली गर्न आग्रह गरे । मोबाइल खसेको अर्को दिन नै जलाशयबाट २ मिलियन लिटर भन्दा धेरै पानी पम्प गरेर खाली गरिएको थियो । उक्त पानी खडेरीमा नै पनि कम्तिमा ६०७ हेक्टर जमिनमा सिंचाई गर्न पुग्ने स्थानीय मिडियाले रिपोर्ट गरेको छ ।
सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा डिजेल पम्पले जलाशयबाट पानी फालिरहेको देखिन्छ । विश्वास भने छाता ओढेर बसिरहेका थिए । जलाशयको पानी सिंचाईको लागि अनुपयोगी रहेको र आफूले खाली गर्न एक वरिष्ठ अधिकारीसँग अनुमति लिएको विश्वासले स्थानीय मिडियालाई बताए ।
‘सिंचाई विभागका अधिकारीहरुले त्यो पानी किसानहरुले प्रयोग नगरेको मलाई बताए । त्यसैले मैले सक्ने ३ फिट जति पानी खाली गरेर नहरमा पठाएर प्रयोगयोग्य बनाएको छु’ उनले भने ।
मोबाइल भेट्न त भेटियो तर पानी पसेर त्यो चल्दै चलेन ।
पानीको स्रोत खेर फालेको भन्दै चौतर्फी आलोचना भएपछि अधिकारीहरूले विश्वासलाई निलम्बन गरेका थिए । भारत सबैभन्दा बढी पानीको तनावग्रस्त देशहरू मध्ये एक हो र चरम तापक्रमले गम्भीर पानीको अभाव निम्त्याउँछ, जसले बाली नोक्सान, जङ्गलमा आगलागी र शक्ति कटौती गर्दछ।
‘उनले औपचारिक अनुमति नलिई पानी निकाले। यो अस्वीकार्य छ,’ शीर्ष जिल्ला अधिकारी प्रियंका शुक्लाले स्थानीय मिडियालाई बताइन्।



