images
images

मध्यमस्र्याङ्दीमा बढ्दै बिजुली, दैनिक ६० मेगावाटसम्म उत्पादन 


  • 385
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    मध्यमस्र्याङ्दीमा बढ्दै बिजुली, दैनिक ६० मेगावाटसम्म उत्पादन 

    काठमाडौं । यहाँ उत्पादिन मध्यमस्र्याङ्दी जलविद्युत् आयोजनाबाट उत्पादित  बिजुली वृद्धि हुन थालेको छ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्न थालेसँगै बेँसीसहर नगरपालिका–१ दलालमा रहेको ७० मेगावाट क्षमताको मध्यमस्र्याङ्दी जलविद्युत् आयोजना केन्द्रबाट  बिजुली उत्पादन वृद्धि हुन थालेको हो । 

    केही दिन यता बेलाबेलामा वर्षा हुनाका साथै हिउँ पग्लिएर मस्र्याङ्दी नदीमा पानी बढेपछि यतिबेला दैनिक ५७/६० मेगावाटसम्म बिजुली उत्पादन भइरहेको केन्द्रका प्रमुख पवन बस्नेतले बताए ।

     उनले भने, “जाडो याम सुरु भई सो नदीमा पानीको बहाव कम हुँदै जाँदा क्षमताभन्दा कम उत्पादन भइरहेको यस केन्द्रको बिजुली विस्तारै वृद्धि हुदै गएको छ ।” केही समय २६ मेगावाट मात्र बिजुली उत्पादन भएकामा यतिबेला वृद्धि हुँदै गएको र एक महिनाभित्रमा पूरै क्षमतामा  उत्पादन हुने बताइएको छ । 

    यस आयोजनाबाट बर्खायाममा क्षमताभन्दा बढी बिजुली उत्पादन हुने गर्दछ । मस्र्याङ्दी नदीमा पानीको बहाव बढ्दा बिजुली उत्पादन बढ्ने र पानी घट्दा उत्पादन घट्ने भएकाले नदीको पानीको बहाब क्षमताको आधारमा बिजुली उत्पादन गर्ने गरिन्छ । 

    सन् २००० मा निर्माण सुरु भएको यो आयोजना सन् २००८ मा सम्पन्न भएको थियो । कूल २७ अर्ब २० करोड रुपैयाँको लागतमा निर्माण भएको यो आयोजना जिल्लाकै पहिलो तथा ठूलो जलविद्युत् आयोजना हो । जिल्लामा आधा दर्जनभन्दा बढी आयोजनाबाट बिजुली उत्पादन भएको छ । ती अधिकांश आयोजनाबाट पनि विस्तारै बिजुली उत्पादन वृद्धि भइरहेको बताइएको छ । 

    जिल्लामा ५४ मेगावाट क्षमताको सुपर दोर्दी ‘ख’, पचास मेगावाटको माथिल्लो मस्र्याङ्दी ए, न्यादी खोलामा निर्माण गरिएको ३० मेगावाटको न्यादी जलविद्युत्, दोर्दी करिडोरमा उत्पादित हिमालयन पावर पार्टनरको २७ मेगावाटको दोर्दीखोला, लिबर्टी इनर्जी लिमिटेडको २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत् आयोजना, दोर्दीखोला जलविद्युत् कम्पनीको १२दशमलव एक मेगावाटको दोर्दी–१, छ्याङ्दी खोला हाइड्रोपावर कम्पनीको चार मेगावाट क्षमताको जलविद्युत्लगायतबाट  बिजुली उत्पादन भइरहेको छ । 


    images
    images

    Logo