images
images

मध्यपुर थिमिमा एक वर्षमा सहित १४ वटा ऐन नियम कार्यविधि निर्माण–नगरप्रमुख श्रेष्ठ


  • 344
    SHARES
  • २०८० जेठ १४ गते आइतबार

    मध्यपुर थिमिमा एक वर्षमा सहित १४ वटा ऐन नियम कार्यविधि निर्माण–नगरप्रमुख श्रेष्ठ

    भक्तपुर । मध्यपुर थिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठले एक वर्षमा बिभिन्न १४ वटा ऐन नियम कार्यविधि निर्माण गरिएको बताएका छन् । नगरको विकास निर्माणसँग संगै सुशासनमा जोड दिएको बताउँदै नगर प्रमुख श्रेष्ठले नगरवासीलाई सरल र सहज ढंगले सेवा प्रदान गर्न आफु लगायतका नगरपालिकाको टिम लागिपरेको बताए ।

    पद बहाली भएको एक वर्ष पुरा गरेको अवसरमा नगरपालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा एक वर्षे कार्यकालको उपलब्धी सार्वजनिक गर्दै नगर प्रमुख श्रेष्ठले भौतिक पुर्वाधारको विकाससंगै ऐन नियम निर्माणमा जोड दिएको बताएका हुन् । 

    भौतिक पूर्वाधारतर्फ एक वर्षमा २१ वटा सडक कालोपत्रे गरिएको, १९ स्थानमा सडक रिटेनिङ वाल निर्माण भएको र २८ स्थानमा ढुङ्गा छपाईको काम सम्पन्न भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए । नगरपालिकाले पछिल्लो एक वर्षमा ११ वटा भित्री सडकमा बल्क छपाई गरेको जानकारी दिँदैं नगर प्रमुख श्रेष्ठले १८ स्थानमा सडक फराकिलो पार्नुका साथै एउटा पुल निर्माण गरेको बताए । नगर प्रमुख श्रेष्ठका अनुसार, सो अवधिमा ५ वटा खानेपानी योजना, २८ वटा ढल तथा १८ वटा ट्रस निर्माण गर्नुका साथै २७ वटा योजना मर्मत सम्भार गरिएको छ ।

    त्यस्तै ९ मन्दिर, ११ फल्चा (पाटी), २ वहा, विभिन्न २१ मन्दिर परिसर, ९ वटा पार्क, २ ऐतिहासिक दरवार, एउटा बौद्ध बिहार, एक पोखरी, एउटा घाट र एक गुम्बा निर्माण भएको नगर प्रमुख श्रेष्ठको भनाई थियो । विगतमा नगरपालिका ऐन, नियम, कानुन, कार्यविधि विना सञ्चालन भइरहेको महसुस गरेर पछिल्लो वर्ष नागरिकलाई र चुस्त दुरुस्त ढंगले सेवा प्रवाह गर्ने लक्ष्यसहित नगरपालिकालाई व्यवस्थित ढंगले पारदर्शीरुपमा सञ्चालन गर्न ऐन, नियम, कार्यविधि र निर्देशिका निर्माणमा जोड दिएको नगर प्रमुख श्रेष्ठको भनाई थियो ।

    त्यस क्रममा नगरपालिकाले नीतिगतरुपमा ७ वटा ऐन, ६ वटा कार्यविधि र भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ (दोस्रो संशोधन २०७९) सहित १४ वटा ऐन नियम कार्यविधि निर्माण गरी कार्यान्वयनमा ल्याएको छ नगर प्रमुख श्रेष्ठले जानकारी दिए । 

    श्रेष्ठका अनुसार, एक वर्षमा स्वास्थ्य ऐन – २०७९, शिक्षा ऐन –२०७९, सहकारी ऐन, २०७९, विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन ऐन २०७९, नेपाल कोरिया मैत्री नगर अस्पताल आकस्मिक कोष सञ्चालन तथा व्यवस्थापन कार्यविधि २०७९, निर्माण भएका छन् । सोहि अवधिमा मौलिक नाम अभिलेखिकरण तथा प्रतिस्थापन समिति सञ्चालन कार्यविधि–२०७९, अनुदान तथा औषधोउपचार कार्यविधि–२०७९, उपभोक्ता समिति मार्फत सार्वजनिक निर्माण कार्य गराउने सम्बन्धी कार्यविधि २०७९, जेष्ठ नागरिक स्वास्थ्य बीमा कार्यविधि–२०७९ निर्माण भएका छन् । 

    त्यसैगरी लैंगिक हिंसा निवारण कोष (संचालन) कार्यविधि २०७९, भौतिक पूर्वाधार विकास तथा निर्माण सम्बन्धी विनियमावली (मापदण्ड) २०५७ (दोस्रो संशोधन २०७९), न्यायीक समितिको कार्यविधि सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक २०७९, आधारभूत सरसफाइ तथा फोहोरमैला व्यवस्थापन विधेयक २०७९, बस्ती विकास तथा जग्गा एकिकरण ऐन २०७७ लाई संशोधन गर्न बनेको विधेयक २०७९ निर्माण गरी कार्यान्वयनमा ल्याईएको नगर प्रमुख श्रेष्ठले बताए ।

    thimi-2.jpg

    राजस्व परिचालनतर्फ पछिल्लो वर्ष संघीय अनुदानअन्तरगत समानीकरण १८ करोड १४ लाख २५ हजार, शःसर्त चालु तर्फ १६ करोड २५ लाख ७ हजार र शर्सत पुंजीगत तर्फ १२ लाख, र राजस्व वांडफांड ११ करोड ९२ लाख ९३ हजार गरी जम्मा ४६ करोड ४४ लाख २५ हजार प्राप्त भएको छ । 

    त्यसैगरी प्रदेश अनुदान तर्फ समानीकरण २ करोड ४३ लाख ८० हजार, शर्सत चालु २ करोड २५ लाख ४० हजार, प्रदेश समपुरक २ करोड १२ लाख ९६ हजार तथा राजस्व वांडफांड २ करोड ६१ लाख ८० हजार गरी जम्मा ९ करोड ४३ लाख ९६ हजार रुपैया प्राप्त भएको छ । दुवै सरकारबाट जम्मा ५५ करोड ८८ लाख २१ हजार अनुदान प्राप्त भएको नगर प्रमुख श्रेष्ठले जानकारी दिए ।

    चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा आन्तरिक स्रोत तथा बैंक मौज्दात समेत जम्मा ६९ करोड १२ लाख ८५ हजार र स्थानीय राजस्व वांडफांडबाट १७ लाख ८६ हजार गरी जम्मा ६९ करोड ३० लाख ७१ हजार आन्तरिक राजस्व संकलन भएको साथै लागत सहभागिताबाट ८ लाख २६ हजार रुपैंया प्राप्त भएको नगर प्रमुख श्रेष्ठले बताए । यसैगरी चालु खर्चतर्फ ३५ करोड ७८ लाख ९३ हजार खर्च (५४.६५ प्रतिशत) खर्च भएको जानकारी दिदैं नगर प्रमुख श्रेष्ठले पुंजीगत तर्फ २८ करोड १७ लाख ७ हजार अर्थात २५.३५ प्रतिशत खर्च भएको बताए ।

    यसवर्ष चुनावी वर्ष भएको र मंसिरमा सम्पन्न संघीय र प्रदेश सभाको निर्वाचनपछि मात्र विकास निर्माणले गती लिएका कारण बैशाख मसान्तसम्म पुंजीगत खर्च कम देखिएको नगर प्रमुख श्रेष्ठको भनाई थियो । अधिकांश योजना हाल सञ्चालनमा रहेकोले असार १५ सम्म पुंजीगत खर्च लक्ष्य अनुसार हुने अपेक्षा नगर प्रमुख श्रेष्ठको छ । 

    उनका अनुसार, मध्यपुर उज्यालो अभियान अन्तर्गत मध्यपुर क्षेत्रभित्र पेटी रहेका सम्पूर्ण सडकमा स्मार्ट लाईट जडानका लागि नेपाल विद्युत प्राधिकरणसंग सम्झौता भएको छ । जस अन्तर्गत अरनिको राजमार्गमा सडक बत्ति जडान भइसकेको छ भने अन्य सडकमा निकट भविश्यमा जडान गरिने छ ।

    नगर प्रमुख श्रेष्ठका अनुसार, शिक्षालाई गुणस्तरीय बनाउन सामूदायिक विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि शिक्षा ऐन अनुरुप मासिक शुल्क, भर्ना शुल्क र वार्षिक शुल्क कायम राख्न संस्थागत विद्यालयलाई सुचित गरिएको छ ।  संस्थागत विद्यालयको शुल्क तथा भर्ना अनुगमन समिति मार्फत अनुगमन बढाइएको छ । 

    नगर प्रमुख श्रेष्ठका अनुसार,  युवालाई खेल क्षेत्रमा आकर्षित गरी असल र अनुशासित नागरिक बनाउन खेल क्षेत्रको विकास बिस्तारमा जोड दिने नीति अनुरुप वडा व्यापी फुटबल लिग, राष्ट्रपति रनिङ शिल्ड सञ्चालन गर्नुका साथै विभिन्न खेल सञ्चालन गर्न सहयोग गर्नु र खेलाडीहरुको प्रोत्साहन र सम्मान गरिएको छ ।

    स्वास्थ्यतर्फ नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालमा डायलासिस सेवा शुरु गरिएको, सिटी सक्यान मेसिन जडान गरिएको, अस्पताल व्यवस्थापनमा सुधार गरिएको, नगरका सबै वडामा स्वास्थ्य सेवा बिस्तार गरिएको छ । त्यसैगरी नगरका ६० देखी ७० वर्ष उमेर समूहका ज्येष्ठ नागरिकको निःशुल्क बिमा गरिएको छ भने नगरवासीलाई निःशुल्क रगत उपलब्ध गराएको छ । व्लड बैंक स्थापनाको तयारी गरिएको र नेपाल कोरिया मैत्री अस्पतालको सेवा बिस्तारका लागि २०० शैयाको नया“ भवन निर्माणको प्रक्रिया अघि बढेको जानकारी नगर प्रमुख श्रेष्ठले दिए ।

    नगरको मुल नारा हाम्रो कला हाम्रो संस्कृति, मध्यपुर थिमि हाम्रो सम्पत्ति भन्ने मुल नारालाई सार्थक बनाउन यस चालु आर्थिक वर्ष महाकाली नाच, भैरब नाच, निलवाराही गणनाच, नवदुर्गा गणनाच, ईन्द्र अप्सरा नाच, विस्काः जात्रालाई व्यवस्थित गर्न वजेटको व्यवस्था गरिएको छ । 

    त्यसैगरी जिव्रो छेड्ने जात्रा, गुंला पर्व, कृष्ण पुजा, रथ पुजा लगायत मध्यपुर थिमि क्षेत्रमा मनाईने विभिन्न ऐतिहासिक, साँस्कृतिक एवँ पौराणिक नाच, जात्रा, चाडपर्व, रितिरिवाज र संस्कृतिको संरक्षण र सम्वद्र्धन कार्यका लागि बजेटको व्यवस्था गरिएको नगर प्रमुख श्रेष्ठले बताए ।

    मध्यपुर थिमि नगरपालिकाका वासिन्दालाई स्वरोजगार बनाउने उदेश्यले ६३० जनालाई विभिन्न ३२ वटा आय आर्जन तथा सीप मुलक  तालिम दिइएको छ । सेरामिक्स व्यवसायको विकासका लागि आधुनिक चिम्नी निर्माण गरिएको र युवाहरुलाई सो व्यवसायप्रति अभिप्रेरित गराउन तालिम सञ्चालन गरिएको बताउंदै नगर प्रमुख श्रेष्ठले युवा व्यवसायीहरुलाई प्रोत्सान गर्न बारिस्ता, मन्टेश्वरी विभिन्न व्यवसायिक एवम् सिपमूलक तालिम सञ्चालन गरिएको जानकारी दिए ।

    कार्यक्रममा नगर उपप्रमुख विजयकृष्ण श्रेष्ठले नगरपालिका भित्र स्ववासीका रुपमा रहेका नगरवासीलाई पुर्जा वितरणको कार्यक्रम अन्तर्गत हालसम्म २ हजार वटा पुर्जा वितरण गरिएको जानकारी दिए । नगरपालिकाले व्यवसाय दर्ता अभियान सञ्चालन गरी करिव २ करोड रुपैंया राजश्व संकलन गर्न सफल भएको बताउंदैं उपप्रमुख श्रेष्ठले सहकारी नियमावली मस्यौदाको कार्य भईरहेको, सहकारी अनुगमन समिति गठन भई कार्य भईरहेको र समस्याग्रस्त सहकारीका सदस्यको वचत सुरक्षाका लागि न्यायीक समिति मार्फत प्रारम्भिक सुनुवाई हुने व्यवस्था गरिएको जानकारी दिए ।

    न्यायीक समितिमा ५२ वटा मुद्दा दर्ता भएकोमा १२ वटा फछ्र्यौट गरिएको र बा“की विचाराधिन रहेको उप प्रमुख श्रेष्ठको भनाई थियो । कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासामा  नगरप्रमुख श्रेष्ठ, वडा नं.८ का वडाअध्यक्ष रमेश थापा श्रेष्ठ, नगरप्रवक्ता एवम् वडा नं. ३ का वडाअध्यक्ष कृष्णहरी आचार्यले स्पष्ट पारेका थिए । 

    कार्यक्रममा प्रमुख प्रशाुसकिय अधिकृत विजयराज सुवेदी, ९ वटै वडाका वडाअध्यक्ष, कार्यपालिका सदस्यहरु, वडा सदस्यहरु, नगरका प्रशासन महाशाखा प्रमुख केशव सिलवाल, योजना महाशाखा प्रमुख सत्यनारायण साहलगायतको सहभागिता रहेको थियो ।


    images
    images

    Logo