काठमाडौं । इन्डियन प्रिमियर लिग आईपीएलको १६औँ संस्करणको फाइनलमा आज साविक विजेता गुजरात टाइटन्सले चेन्नई सुपर किङ्सको सामना गर्दैछ । अहमदाबादमा बेलुका पौने ८ बजे सुरु हुने खेलमा बिजयी हुने टीमले पुरस्कार स्वरुप २० करोड भारतीय रुपैया पुरस्कार पाउँने छ ।
त्यसैगरी उपविजेता टोलीले १३ करोड भारु तथा तेस्रो र चौथो हुने टोलीले समान ७–७ करोड रुपैयाँ पाउनेछन्। त्यस्तै आईपीएल २०२३ मा सबैभन्दा बढी रन बनाउने र सबैभन्दा बढी विकेट लिने खेलाडीले १५–१५ लाख पुरस्कार पाउनेछन्।त्यसैगरी उदीयमान खेलाडी बन्ने खेलाडीलाई २० लाख भारु दिइनेछ भने सुपर स्ट्राइकरले १५ लाख पुरस्कार पाउनेछन्।
आईपीएल २०२३ मा सबैभन्दा मूल्यवान खेलाडी बन्ने खेलाडीलाई पनि १२ लाख रुपैयाँ पुरस्कार दिइनेछ। त्यस्तै पावर प्लेयर, गेम चेन्जर र धेरै छक्का प्रहार गर्ने खेलाडीले १२–१२ लाख भारु पुरस्कार पाउने छन्। आइपिएलमा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीले एक लाख पुरस्कार पाएका थिए ।
पहिलो चरणमा गुजरात शीर्ष र चेन्नई दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा खेलेका थिए। सो खेलमा चेन्नईले गुजरातलाई १५ रनले हराउँदै फाइनलमा स्थान बनाएको थियो। गुजरातले दोस्रो क्वालिफायर खेलमा पाँच पटकको च्याम्पियन मुम्बईलाई ६२ रनले पाखा लगाउँदै चेन्नईसँगको भेट पक्का गरेको हो।
गएको वर्ष पहिलो पटक आईपीएल खेलेको गुजरातले पहिलो वर्ष नै उपाधि जितेको थियो। चार पटकको विजेता चेन्नईले आईपीएलमा फाइनल खेल्न लागेको यो दशौँ पटक हो।



